यसअघिको कीर्तिमानी मूल्य तोड्दै नयाँ किर्तिमान बनाएको सुन फेरी घट्न थालेको छ । सुनको मूल्यले गत भदौ ९ मा अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको कीर्तिमानी बनाएको थियो । त्यो दिन नेपाली बजारमा प्रतितोला ७३ हजार ५ सयमा सुनको कारोबार भयो ।
लगातार उतार चढावमा रहेको सुनको मूल्य भदौ १८ मा पुन सोही मूल्यमा पुग्यो । त्यसपछि पछिल्लो १० दिनमा भने सुन प्रतितोला २९ सयले घटेर ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै प्रतितोला तेजावी सुनको मूल्य पनि घटेर ७० हजार ३ सय पुगेको छ ।
सुनको मूल्य मात्रै होइन अहिले चाँदीको मूल्य पनि घटेको छ । भदौ १८ मा प्रतितोला चाँदीको मूल्य ९ सय ४० रुपैयाँ पुगेको चाँदी त्यसपछिको १० दिनमा प्रतितोला ७० रुपैयाले घटेर ८ सय ७० भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि नेपाली बजारमा पनि सुन सस्तो हुन थालेको छ ।
पछिल्ला समयमा १५ सय ४५ अमेरिकी डलर रहेको प्रति औंस सुन अहिले घटेर १४ सय ९० अमेरिकी डलरको आसपास रहेको छ । त्यसैले नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो ।
यस्तै, अमेरिका र चीन व्यपार युद्ध असर पनि सुनको मूल्यमा देखिएको हो । केही दिन यता दुई शक्तिराष्ट्रको बीचमा वार्ताको तयारी भएको समाचार बाहिर आएको छ । यसले गर्दा लगानीकर्ताहरु पनि सुनको लगानी छोडेर व्यापारमा लगानी बढाएका कारणले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको जानकारहरु बताउछन् ।