विगत एक सातादेखि ओरालो लागेको सुनको मूल्य सोमबार एकाएक महँगिएको छ। एकै दिन तोलामा ११ सय रुपैयाले सुन महँगिएको छ। अघिल्लो दिन आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार ३ सय रुपैयाँ पुगेको छ।
कच्चा तेलको मूल्य महँगिएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको हो। यस दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय डलर नाघेको छ।
कच्चा तेलको मूल्य १० प्रतिशतले बढेको छ। शनिबार साउदी अरबको तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा ड्रोन आक्रमण भएपछि विश्वभरिनै तेलको मूल्य बढेको छ। आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य १० प्रतिशतले बढेर प्रतिब्यारेल ६६।२८ अमेरिकी डलर पुगेको छ।
सुन र कच्चा तेलसँगै चाँदीको मूल्य पनि महँगिएको छ। यस दिन प्रतितोला २५ रुपैयाँले चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला ८४० रुपैयाँ रहेको चाँदी सोमबार ८६५ रुपैयाँ पुगेको छ।