सुनको मूल्य फेरि बढ्न थालेको छ। शुक्रबार ७१ हजार प्रति तोलामा कारोबार भएको सुन आइतबार ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय पुगेको छ।
यसअघि गत बिहीबारर प्रति तोला सुनको मूल्य ७० हजार ७ सयमा झरेको थियो। भदौ महिनामा सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। भदौ ९ गते नेपाली बजारमा प्रति तोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। त्यसपछि पनि भदौ १९ मा सुनको मूल्य सोहि विन्दुमा पुग्यो। त्यसपछि भने सुनको मूल्य घट्न थालेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले बढेर आइबार ८ सय ६५ पुगेको छ। यसअघि बिहीबार प्रतितोला चाँदी ८ सय ५५ थियो भने शुक्रबार ८ सय ६० पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि भाउ बढेको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १५ सय १६ अमेरिकी डलर छ।