सरकारले विदेशबाट ल्याउने सुनको भन्सार महसुल बढाएको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको हो।
५० ग्रामसम्मका सुनका गहनामा कुनै शुल्क नलाग्ने भए पनि ५० ग्राम देखि १०० ग्रामसम्मका सुनका गहनामा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल तोकिएकाे छ।
यसअघि साेही परिमाणकाे सुनका गहनाको भन्सार दर ७ हजार २ सय थियो।
१०० ग्रामभन्दा बढी अर्को थप १०० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको दश हजारका दरले महसुल तोकेको छ।
यसअघिको महसुलमा सरकारले हजार रुपैयाँ बढाएको हो। तर, त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्ने छ।
यस्तै व्यापारिक रुपमा कारोबार गर्न ल्याइने प्रति १० ग्राम सुनमा भने ६ हजार ५ सय तोकिएको छ। यसअघि त्यसको दर ५ हजार थियो।
विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ।
यसअघि साेही परिमाणकाे भन्सार महसुल ६ हजार २ सय थियो। त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ।
यसअघि सोही परिमाणको सुनको महसुल ७ हजार २ सय थियो।
यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा ५६ रुपैयाँको सट्टा अब ७५ रुपैयाँ तिर्नु पर्ने भएको छ।
सरकारले भन्सार दर बढाएपछि कालोबजारी बढ्ने व्यापारीहरुले बताएका छन्।
नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव धर्मरत्न बज्राचार्य भन्सार महसुलका कारणले नेपालमा सुनको मूल्य बढ्ने हुनाले भन्सार छलेर ल्याउने सुनको मात्रा बढ्ने बताए।
‘सरकारले नयाँ महसुल तोकेपछि नेपालमा सुन भित्रिने थाइल्यान्ड तथा हङकङको तुलनामा एक तोलामा ९ हजार रुपैयाँसम्म महँगो हुन्छ, त्यसैले नेपाली बजारमा सुन झनै महँगो हुन्छ,’ उनले भने।