सरकारले बजेटमार्फत सुन तथा चाँदीजस्ता बहुमूल्य धातु बैंकमा राखेर व्याज पाइने व्यवस्था लागू गर्ने घोषणा गर्यो।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा जम्मा गर्न सक्ने विषयलाई नीतिगत व्यवस्था गर्ने उल्लेख गर्यो।
यसलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले छुट्टै समिति गठन गर्यो। तर समितिले कार्यान्वयनको प्रतिवेदन बनाउनै सकेको छैन।
बजेट वा मौद्रिक नीतिमा यो व्यवस्था घोषणा गर्दा सरकारले आफूहरुसँग सल्लाह नगरेको तथा कार्यान्वयन जटिल रहेको सुनचाँदी व्यवसायी बताउँछन्।
बैंकर्स र सुनचाँदी व्यवसायीसँग छलफल गरेर कार्यान्वयनका लागि सुझावसहितको प्रतिवेदन बुझाउन समितिलाई भनिए पनि अहिलेसम्म प्रतिवेदन नआएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए।
राष्ट्र बैंकले सोही प्रतिवेदनका आधारमा कार्यविधि बनाउन सक्नेछ। गरगहनालाई निक्षेपका रुपमा जम्मा गर्ने व्यवस्था सहज नदेखिएको सिवाकोटीको भनाई छ।
‘गहना डिपोजिट गर्न लैजाँदा त्यसको जर्ती र ज्याला काटिन्छ। अनि पछि त्यही गहना लिँदा त्यो जर्ती र ज्यालाको कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भ पनि जटिल छ’ सिवाकोटीले भने।
यद्यपी काँचो सुनमा भने यो व्यवस्था लागू गर्ने तयारी रहेको उनले बताए। तर हाल काँचो सुन किनबेच गर्न नपाइने व्यवस्था छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार २०६६ सालदेखि नै काँचो सुन किनबेच बन्द छ।
‘व्यवसायीले गरगहना बनाउने प्रयोजनका लागि मात्रै काँचो सुन लिने हुन्, तर व्यवसायीले काँचो सुन बेच्न पाउँदैनन्’ महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने।
सिवाकोटी भने यो व्यवस्थाले पहिले नै सर्वसाधारणसँग भएको काँचो सुन बैंकमा आउन सक्ने बताउँछन्। सर्वसाधारणले काँचो सुन किन्न नपाउने व्यवस्था हटाएमा मात्रै काँचो सुन बैंकमा निक्षेपका रुपमा जानेछ।
तर सर्वसाधारणले अब काँचो सुन खरिद गर्दा बैंककै निक्षेप झिकिने भएकाले यो व्यवस्था खुल्ला गरिए पनि यसले थप पुँजी भने बढ्न पाउँदैन।
सुनचाँदी जस्ता बहुमूल्य धातु बैंकमा राखेर व्याज पाउने व्यवस्था भएमा सर्वसाधारणलाई लकरमा राख्नुपर्ने बाध्यता हट्न जानेछ। सोवापत लाग्ने शुल्क बचत हुने मात्रै होइन, उल्टै बैंकबाट सो मूल्यको व्याज समेत पाइनेछ।
अर्कोतर्फ घरमा अनुत्पादकका रुपमा रहेको सुनलाई उत्पादनमूलक क्षेत्रमा लैजान सकिने भएकाले यसले अर्थतन्त्रलाई समेत राम्रो प्रभाव पार्ने जानकार बताउँछन्।
‘निश्क्रिय बनेर घरमा रहेको सुनले अब थप पुँजी सिर्जना गर्न सक्छ, यसले अर्थतन्त्रलाई फाइदा हुन्छ’ शाक्यले भने। विश्वका अन्य देशहरुमा पनि यस्तो व्यवस्था रहेको स्मरण गर्दै शाक्यले थपे ‘बैंकमा जुन गुणस्तरको, जति सुन राखिएको छ, त्यसको विस्तृत विवरण उल्लेख गरी बैंकहरुले सर्टिफिकेट दिन्छन्, तोकिएको निश्चित अवधिपछि त्यही गुणस्तर र परिमाणको सुन निक्षेपकर्ताले लिन्छ।’
यसरी राखिएको धातु निक्षेपको ब्याजदर नगदमा जस्तो धेरै नहुने उनले बताए। ‘ब्याज १-२ प्रतिशत मात्रै हो, धेरै हुँदैन, शुल्क नतिरी सुरक्षित रूपमा राख्न पाउनुलाई नै ठूलो उपलब्धी मान्नुपर्छ,’ उनले भने।
अर्कोतर्फ यो व्यवस्थाले सुनचाँदीजस्ता धातुको भविष्यमा हुन सक्ने मूल्यवृद्धिको चिन्ता पनि नरहने उनले बताए। ‘छोराछोरीको बिहे गर्नु पर्नेछ, दुई वर्षपछि महँगिएला भन्ने लागेमा अहिले तोलाको ६० हजार रहेको सुन खरिद गरेर निक्षेपका रूपमा सुरक्षित गर्न सकिने भयो,’ उनले उदाहरण सुनाए, ‘२ वर्षपछि तोलाको ६५ हजार पुगे पनि चिन्ता रहेन, अहिले किनेकै सुन बैंकबाट निकाल्ने हो।’
ठीक एक वर्षअघि प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले ७२ हजार छ। निक्षेपका रूपमा सुनचाँदी बैंकले जम्मा गरेपछि आवश्यक परेका बेला व्यवसायीले समेत सापटीका रूपमा लिन सक्नेगरी व्यवस्था गर्न सकिने उनले बताए।
‘यदी बैंकले २ प्रतिशत ब्याज दिनेगरी सर्वसाधारणबाट लिएको सुन हामीलाई निश्चित अवधिसम्म सापटी दिई ४ वा ५ प्रतिशतसम्म लिन सक्ने भए, बैंकको व्यवसाय पनि बढ्ने भो,’ उनले भने।
अहिले नेपालमा आयात हुने सुनमा दैनिक २० केजीको कोटा तोकिएको छ। तर बजारमा भने बेलाबेलामा सुनको अभाव हुने गरेको छ। अभाव भएका बेला व्यवसायीले बैंकबाट सुन लिएर व्यवसाय संचालन गर्न सक्ने छन्।