महँगो भएपछि यस आर्थिक वर्षको पहिलो चार महिनामा सुनको आयात घटेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब ८० करोड रुपैयाँको सुन आयात भएको छ। जवकि गत आर्थिक वर्षको यस अवधिमा ११ अर्बको सुन आयात भएको थियो।
महँगो भएकाले सुनको माग घटेको व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले विगतका महिनामा सुनको माग नै नभए पनि बिहेका कारण मंसिरदेखि माग बढेको जानकारी दिए। शाक्यले अहिले दैनिक औसत २५ केजी सुनको माग रहेको जानकारी दिए।
एक वर्षमै सुनको मूल्य प्रतितोला ११ हजार बढीले महँगिएको छ। सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ७१ हजार ६ सय रुपैयाँ तोकेको छ। गत वर्षको यसै अवधिमा प्रतितोला ६० हजारको हाराहारीमा थियो।
यस आर्थिक वर्षको मंसिर २७ गतेसम्म जम्मा १ हजार ५० केजी सुन आयात भएको नेपाल बैंकर एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए। आयात भएकोमध्ये पनि २ सयकेजी बढी बाँकी रहेको एसोसिएसनले जनाएको छ।
वाणिज्य बैंकहरुले अधिकतम दैनिक २० केजीसम्म सुन ल्याएर व्यवसायीलाई बिक्री गर्ने गर्दछन्। महँगो भएपछि यस आर्थिक वर्ष सुनको आयात नै घटेको छ।
गत वर्ष दैनिक २० केजीको कोटा अपुग भएपछि व्यवसायीको दवावमा चाडपर्वका बेला २५ केजीसम्म आयात गर्न पाउने व्यवस्था मिलाइएको थियो। तर यस आर्थिक वर्षको ५ महिनासम्म तोकिएको कोटाको आधा मात्रै सुन आयात भएको छ।
‘विवाहको सिजनका कारण पहिलेभन्दा अहिले कारोबार बढेको छ, अब कारोबार बढ्ने अनुमान छ’ उनले भने। सुन महँगो भए पनि त्यसले मागलाई दीर्घकालीन असर नपार्ने उनको भनाई छ।
खासगरी दसैंतिहार, तीज, विवाहको मौसममा सुनको कारोबार बढी हुने गरेको व्यवसायी बताउँछन्। सुन महँगो हुँदा पनि त्यसको महत्व झनै बढ्ने गरेको व्यवसायी बताउँछन्।