पछिल्लो केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य यसअघिको उच्च मूल्यसँग बराबर भएको छ। आज प्रतितोला छापावाल सुनको ७३ हजार ५ सयमा कारोबार भइरहेको छ।
यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य हो।
गत भदौ १८ मा सुनकाे उच्च मूल्यले यो कीर्तिमानी बनाएको थियो।
सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७३ हजार ५ सय पुगेको हो। यस्तै, तेजावी सुन भने ७३ हजार २ सयमा कारोबार भइरहेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन्।
सुनचाँदी व्यावसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्य भने डलर कमजोर भएकाले सुनको मूल्य बढेको तर्क गर्छन्।
‘डलर कमजोर हुदाँ सुनको माग बढ्छ, अहिले लगानीकर्ता सुनमा ओहिरिएकाले मूल्य बढेको हो,’ उनले भने।
यस्तै अमेरिका र चीनको बिचमा हुने भनेको व्यापार सम्झौताको समय लम्बिदा त्यसको असर पनि सुनमा देखिएको उनको तर्क छ। त्यस्तै अमेरिकाको केन्द्रिय बैंक फेडले व्याजदर घटाउने हल्लाले पनि सुनको मूल्य बढेको उनको बुझाइ छ।
उनले अन्तर्राष्ट्रिय रुपमा ठोस परिवर्तन भएन भने मूल्य अझै बढ्न सक्ने बताए।
‘यहि रुपमा बढ्यो भने प्रतितोला ८० हजार सम्म पुग्न सक्ने देखिन्छ,’ उनले भने।
सुनको मूल्य बढ्दा कारोबार नभएको बताइरहेको सुनचाँदी व्यावसायीहरु मंसिरमा भने राम्रो कारोबार भएको बताइरहेका छन्।
पछिल्लो सयम सुनको मूल्यमा भएको वृद्धिले कारोबार पुन घट्ने व्यापारीहरुको भनाइ छ।
सुनसँगै चाँदीको मूल्य पनि बढीरहेको छ। सोमबार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।