सुनको भाउ फेरि आकासिएको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ५ सय पुगेको छ।
यो बुधबारको तुलनामा हजार रुपैयाँ बढेको हो। मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको थियो।
सुनले नेपाली बजारमा भने गत शुक्रबार देखि नयाँ किर्तिमान कायमगर्दै आइरहेको छ। शुक्रबार त्यसअघिको सबै रेकर्ड तोड्दै ७४ हजार ५ सय पुगेको सुन आइतबार पुन हजार रुपैयाँ बढेको थियो।
यस्तै सोमबार पनि सुन ५ सय बढेर ७६ हजार पुगेपनि मंगलबार भने ५ सय घटेको थियो। तर बुधबार फेरि हजार रुपैयाँ बढेको हो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको छ।
अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको विश्लेषकहरुले बताएका छन्। अहिले अन्तर्राष्टिय बजारमै सुनको मूल्य बढेको छ।
केही दिन अघि प्रतिऔंस १५ सय ३० अमेरिकी डलर रहेको सुनको भाउ सोमबार १५ सय ७७ प्रतिऔंस पुगेको थियो ।
मंगलबार त्यो घटेर १५ सय ६५ मा पुगेपनि बुधबार फेरि बढेर १६ सय पुगेको छ।
अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यावासायी पनि सुनको मूल्य अझै बढ्न सक्ने आकलन गरिरहेको छन्।
सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको थियो।
मंगलबार २० रुपैयाँ घटेर पुन ९ सय पुगेको चाँदी बुधबार फेरि २० रुपैयाँ बढेको सुनचादी व्यावसायी महासंघले जनाएको छ।