सोमबार उच्च मूल्यमा कारोबार भएको सुन दुई दिनमा १३ सयले घटेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबारका लागि प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ सय कायम भएको छ।
यसअघि आइतबार नेपाली बजारमा सुनको मूल्य ७६ हजार ५ सय कायम भएको थियो। यो नेपालीमा बजारमा कारोबार भएको सबैभन्दा उच्च मूल्य हो। सोमबार पनि सोही मूल्यमा स्थिर रहेको सुन मंगलबार ५ सयले घटेको थियो। त्यस्तै बुधबार पनि सुनको मूल्य ८ सयले घटेको छ।
यस्तै तेजावी सुनको मूल्य पनि घटेको छ। आजको लागि प्रतितोला तेजावी सुनको मूल्य ७४ हजार ९ सयमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ५९ अमेरिकी डलर रहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा १५ सय ९० अमेरिकी डलर प्रतिऔंसमा पुगेको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।