गत वर्षको तुलनामा यो वर्ष सुनको आयात ह्वात्तै घटेको छ। नेपाल बैंकर्स संघकाअनुसार गत आर्थिक वर्षको माघ १७ सम्मको तुलनामा चालू आर्थिक वर्षमा २ हजार ९ सय किलो कम सुन आयात भएको छ।
गत वर्ष माघ १७ सम्म ४ हजार ३ सय ५० किलो सुन आयात भएको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा भने जम्मा १ हजार ४ सय ५० किलो सुन आयत भएको छ। यो गत वर्षको तुलनामा एक तिहाइ मात्रै हो।
पछिल्ला वर्षमा सुनको आयत बढिरहेको भएपनि यो वर्ष भने घटेको छ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालमा औपचारिक क्षेत्रबाट ७ हजार ३ सय १० किलो सुनको आयात भयो।त्यसपछिको वर्षमा २०७५/७६ मा भने नेपाली बैंकले ७ हजार ४ सय ५० किलो सुन भित्रिएको थियो।
त्यसो त यो वर्ष सुनले अहिलेसम्मकै सबैभन्दन उच्च मूल्य बनाएर किर्तिमान पनि कायम गर्याे। त्यसैले सुनको आयात कम भएको जानकारहरु बताउँछन्।
सुनचाँदी व्यावसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘अघिल्ला वर्ष माघ/फागुनमा दैनिक ४० देखि ५० किलो सुनको माग हुन्थ्यो, मूल्य बढेकै कारण अहिले ५ देखि १० किलो मात्रै छ।’ उनी अहिले सुनको व्यापार निकै घटेको बताउँछन्।
मुल्य बढेसँगै सुन बेच्न चाहानेको संख्या पनि बढेकाले सुनको आयात कम भएको उनको दाबी छ।
‘घरमा राखिएको सुन बजारमा आएकाले ढिक्का सुनको आयात कम भयो,’ उनले भने।
पछिल्लो समय विदेशबाट फर्किदा सुन लिएर आउने चलनले बैंकमार्फत हुने सुनको कारोबारमा कमी आएको बज्राचार्यको भनाइ छ।
बैंकर्स संघका सिइओ अनिल शर्माले पनि मूल्य बढेकै कारण माग घटेकाले बैंकहरुले सुनको आयात कम गरेको दाबी गरे।
महासचिव बज्राचार्य अनौपचारिक क्षेत्रबाट सुन आयात भएकाले बैंकले दिने सुनको माग कम भएको कुरा अस्वीकार गर्छन्।
उनको तर्क छ, ‘महासंघले सबै सुनको व्यापार गर्ने साथीहरुलाई ढिक्का सुन बैंकबाट मात्रै लिने र गहनाको किन्दा बिल अनिवार्य लिएर मात्रै कारोबार गर्ने भनेका छौं। त्यसैले अनौपचारिक क्षेत्रबाट आएको सुन कारोबार भएको छैन। बजारमा सुनको माग नै कम भएको हो।’
एक वर्षमा १७ हजारले बढ्यो सुनको भाउ
विगत ३६५ दिनमा सुनको मूल्य प्रतितोला १७ हजारले बढेको छ।
गत वर्ष माघमा नेपाली बजारमा प्रतितोला ५९ हजारमा कारोबार भएको सुन यो माघमा ७६ हजार ५ सयसम्म पुग्यो। जुन नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
चालू आर्थिक वर्षको सुरुमा नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ६४ हाजार ५ सय थियो। साउनको अन्तिम हप्ता यसअघिका सबै र्कितीमान भंग गर्दै सुनको भाउ ७० हजार कट्यो।
त्यसपछि निरन्तर बढेर भदौ ९ मा ७३ हजार ५ सय पुगेको सुन विस्तारै घट्न थालेको थियो। त्यसपछि लगातार बढिरहेको सुनको मूल्यले यो वर्ष यसअघिका सबै किर्तिमान भंग गर्दै नयाँ उचाइमा पुगेको थियो।
पुस २३ गते अहिलेसम्मकै उच्च करोबार
अहिलेसम्म नेपालमा सबैभन्दा उच्च कारोबार पुस २३ मा भएको थियो । उक्त दिन प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो।
अमेरिका र इरानको बीचमा भएको तनावका कारण उक्त समयमा सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका थिए।
त्यसपछि पुन एकपटक प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन त्यसभन्दा माथी भने पुगेको छैन।
कसरी निर्धारण गरिन्छ नेपालमा सुनको मूल्य ?
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राती १२ बजे कायम भएको प्रतिऔंस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यावसायीको नाफा जोडेर तय गरिन्छ।
अहिले प्रति १० ग्राम सुन आयात गर्दा भन्सार दरको रुपमा ६ हजार सरकारलाई बुझाउनु पर्छ। त्यस्तै बैंकले सुन आयात गर्दाको लागत र आफ्नो नाफाको रुपमा छुट्टै ०.५ प्रतिशत मूल्य थप गर्छ। त्यसमा व्यावसायीले आफ्नो नाफाको रुपमा ०.५ प्रतिशत पनि छुट्याएका हुन्छन्।
नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिएको छ।
भारतमा पनि घट्यो सुन आयात
नेपालमा मात्रै नभएर भारतमा पनि सुनको आयात घटेको छ। अन्तर्राष्ट्रिय समाचार माध्यामका अनुसार सन् २०१९ को अप्रिलदेखि डिसेम्बरसम्म सुनको आयात ६.७७ प्रतिशतले कमी आएको हो।
सन् २०१९ को पहिलो नौ महिनामा भारतमा २३ अर्ब डलरको सुन आयात भएको थियो। यो गत वर्षको भन्दा झन्डै २ अर्बले कमी हो। अघिल्लो वर्षको सोही अवधिमा भारतमा २४ अर्ब ७३ करोडको सुन आयात भएको थियो।
भारतमा वार्षिक ८ देखि ९ सय टन सुनको आयात हुने गरेको बताइन्छ। सुनको बढ्दो आयात नियन्त्रण गर्न भन्दै गत वर्ष भन्सार दर बढाएर १० बाट १२.५ प्रतिशत पुर्याइएको थियो।
कस्तो छ नेपालमा सुनको आयातको इतिहास?
२०६६ सालअघि नेपालमा खुल्ला रुपमा सुनको आयात गर्न पाइन्थ्यो।
त्यसो त नेपालमा कुनै बेला सुनको कारोबारलाई अवैध मानिथ्यो। सुन व्यावसायी महासंघका महासचिव बज्राचार्यका अनुसार २०४९ सालसम्म नेपालमा सुनको कारोबार अवैध थियो। त्यसपछि विस्तारै सुन कारोबारलाई औपचारिक मान्यता दिन थालियो।
२०६२ सालदेखि भने सुन व्यवसायीहरुले नेपालमा आफूले गरेको सुनको व्यावसाय देखाएर सुनको आयात गर्न पाइने व्यावस्था गरियो। त्यतिबेला सुन कारोबार गर्ने व्यापारी ओपन जनरल लाइसन्स (ओजीएल) लिएर विदेशमा एलसी खोलेर सुनको कारोबार गर्न सक्थे। यो सँगै नेपाल सुनको कारोबारले कानुनी मान्यता पायो।
खुल्ला रुपमा सुनको कारोबार गर्न पाइने भएपछि सुनको तस्करी बढेको भन्दै नेपालमा २०६६ सालमा सुनको कारोबार बन्द भयो।
परम्परागत रुपमा सुनको व्यावसाय गर्नेहरुको रोजीरोटी गुमेको भन्दै व्यावसायीरुहरुले आन्दोलन गरेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो।
त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे। तर त्यसलाइ बढाएर दैनिक १५ किलो हुँदै अहिले दैनिक २० किलो सुन आयात गर्न राष्ट्र बैंकले अनुमती दिन्छ।
गत वर्षदेखि भने विशेष चाडपर्वको अवसरमा २५ किलोसम्म सुन आयात गर्न राष्ट्र बैंकले अनुमती दिन्छ।
अहिले नेपालमा ढिक्का सुनको कारोबार बैंकहरुले मात्रै गर्न पाउने व्यावस्था छ। बैंकहरुले सुनको कारोबार गर्न चाहेमा नेपाल राष्ट्र बैंकलाई निवेदन दिएर स्वीकृति पाएपछि आयात गर्न सक्छन्।