अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको प्रभाव नेपाली बजारमा परेको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ सय ६७ अमेरिकी डलरसम्म पुगेको छ। १ औंस बराबर २८ दशमलव ३४९५ ग्राम हुन्छ। नेपाली बजारमा सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
आखिर किन बढिरहेको छ सुन, कतिसम्म पुग्ला त ? यो प्रश्न नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यलाई सोध्यौँ। उनका अनुसार यतिबेला मुख्य कारक कोरोना भाइरस नै हो।
‘चीनमा मात्रै नभएर अन्य मुलुकहरूमा पनि कोरोना फैलिँदै जाँदा लगानीकर्ताको आकर्षण सुनप्रति बढेको हो’ उनले भने ‘माग बढेपछि स्वभाविक रुपमा सुनको मूल्य बढ्छ नै।’
कोरोनाले विश्वका केही मुलुकको अर्थतन्त्रमा असर पार्ने संकेत देखिँदा लगानीकर्तामा त्रास बढेको र सुनमा लगानी सिफ्ट भइरहेको उनले बताए।
‘अहिले विश्वका मुख्य स्टक मार्केटहरू पनि डाउन भएको अवस्था छ, अन्य औद्योगिक क्षेत्रमा पनि लगानीका लागि उत्साह छैन’ शाक्यले भने ‘लगानीकर्ताले सुरक्षित सुनलाई ठाने, यसले माग बढ्यो।’
कोरोना भाइरसका अलवा शक्तिशाली मुलुकहरुको द्वन्द्व पनि एउटा कारण रहेको उनले बताए। ‘इरान र अमेरिकाबीचको द्वन्द्व घटेन, अर्कोतर्फ चीन र अमेरिकाको व्यापार युद्धमा कमी आउने संकेत पनि देखिएन, यसले पहिलेदेखि मूल्य बढेको थियो, यही बीचमा कोरोनाले थप बढायो।’
कोरोनाको संक्रमण घटेमा मात्रै सुनको मूल्यमा कमी आउने उनले बताए। ‘कोरोना भाइरस नियन्त्रणमा आउन सक्यो भने मूल्य घट्छ, तर अधिकतम मूल्य कति पुग्ला भन्न सक्ने अवस्था हुँदैन।’
उच्च सुन आयात गर्ने मुलुकमा चीन र भारत क्रमशः दोस्रो र तेस्रो मुलुकमा पर्छन्। चीनमा कोारोनाको त्रास बढिरहँदा भारतमा भने आर्थिक मन्दी छ। जसले गर्दा पनि लगानीकर्तामा सुनप्रति आकर्षण बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।
शक्तिशाली मुलुहरूको द्वन्द्व तथा ति राष्ट्रको अर्थव्यवस्था र कोरोना भाइरस नै अहिलेका लागि सुनको मूल्य प्रभाव पार्नमा मुख्य कारण रहेको शाक्य औंल्याउँछन्।
कतिपयले सुनको मूल्य १ लाख पुग्न सक्ने आँकलन गरेका छन्।
‘बढिरहँदा अझै बढ्छ भन्ने लाग्छ नै, तर अधिकतम एउटा निश्चित विन्दु कति हुन्छ भन्ने त कसैले पनि ठ्याक्कै भन्न सक्दैन, कसैको अनुमान मिल्यो भने त्यो संयोग हो’ उनले भने।
सुनको मूल्यमा हल्लाका पछि नलाग्न उनले सुझाए। महँगो सुनका बाबजुत पनि बजारमा सुनको मागमा भने त्यति असर परेको छैन।
शाक्यका अनुसार अहिले दैनिक २५ केजीको हाराहारीमा सुनको माग छ। यो तोकिएको कोटाभन्दा बढी हो। नेपालमा दैनिक औसत २० केजी सुन आयातका लागि कोटा निर्धारित छ।
‘बिहे, ब्रतबन्धजस्ता कारणले पनि होला अहिले माग नभएको अवस्था छैन’ शाक्यले भने ‘मूल्य बढिरहे वा योभन्दा तल नझरेमा चैतमा सुनको माग खस्किन सक्छ।’