नेपाली बजारमा प्रत्येक दिन सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ। गएका केही दिनदेखि प्रत्येक दिन सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ। नेपाली बजारमा हालसम्मकै महंगो सुन आज प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
नेपाली बजारमा नयाँ नयाँ कीर्तिमान बनाइरहे पनि विश्वबजारमा भने सुनको मूल्यमा ९ वर्ष अघिको रेकर्ड तोड्न सकिरहेको छैन। यद्यपी विश्व बजारमा पनि सुनको मूल्य प्रत्येक दिन बढिरहेको छ।
विश्वबजारमा सुन सात वर्ष यताकै महंगो मूल्यमा कारोबार उइरहेको छ।
बजार सुचकहरुका अनुसार विश्वबजारमा सुनको मूल्य प्रति आउन्स १ हजार ६७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो भनेको सन् २०१३ को फेब्रुअरी ४ को भन्दा थोरैले न्यून हो। त्यतिबेला सुनको मूल्य १६ सय ७२ डलर प्रति आउन्स थियो।
विश्वबजारमा हालसम्मकै उच्च सुनको मूल्य भनेको प्रतिआउन्स १८ सय ८९ अमेरिकी डलर हो।
कोभिड १९ का कारण विश्वकै अर्थतन्त्रमा सुस्तता आएपछि सुनको माग बढ्दा मूल्य बढिरहेको बताइएको छ। विश्वका ठूला कम्पनीहरुले पछिल्लो समय आय प्रक्षेपन घटाइरहेका छन्। यसको फलस्वरुप लगानीकर्ताले सुनमा लगानी गरिरहेका छन्। यही कारण सुनको मूल्य बढेको बताइएको छ।