विदेशबाट ल्याइने सुन तथा गरगहनामा लाग्ने भन्सार शुल्क बढेको छ। बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाएसँगै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शुल्कको नयाँ सूची सार्वजनिक गरेको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तथा सूचना अधिकारी दयानन्द केसीले बजेटमा घोषणा भएको भोलिपल्टबाटै नयाँ व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिए।
यद्यपी लकडाउनका कारण विदेशबाट फर्किनेहरु नभएकाले शुल्क नउठेको उनले बताए।
‘अब विदेशबाट आउनेले ल्याएको सुनमा नयाँ व्यवस्थाअनुसार शुल्क लिइनेछ, यद्यपी फ्लाइट नभएकाले अहिलेसम्म नयाँ व्यवस्थाअनुरुप शुल्क उठेको छैन’ सेतोपाटीसितको कुराकानीमा उनले भने।
प्रति दश ग्राम २ हजारका दरले भन्सार शुल्क बढेको उनले जानकारी दिए। ल्याउन पाइने सुन तथा गरगहनाको परिमाणमा भने कुनै परिवर्तन नभएको उनले स्पष्ट पारे।
जसअनुसार अब सुनको हकमा पहिलो ५० ग्रामसम्म प्रति दशग्राम नौ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
त्यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दशग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्नेछ। त्योभन्दा माथिको परिणाम ल्याएमा भने जफत हुनेछ।
त्यस्तै सुनको गहनाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन। ५० ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १० हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ।
त्यस्तै १ सय ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १२ हजार रुपैयाँ शुल्क लाग्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
सोभन्दा बढी परिणाममा गहना ल्याएमा बढी भएको परिमाणजति जफत गरिने कार्यालयले स्पष्ट पारेको छ।
त्यस्तै विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने ५० ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजानेगरी भन्सार विन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यमा बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने भएको छ।
त्यसरी ल्याएको गहना निज यात्रु फिर्ता जाँदा भन्सार विन्दुमा परीक्षण गराई राखेको धरौटी फिर्ता लैजान सक्नेछ।
त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएका ऐनअनुसार कारबाही हुनेछ।