सुनको मूल्य प्रतितोला ९० हजारनजिक पुगेको छ।
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।
अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि त्यसले नेपालमा पनि असर पारेको सुनचाँदी व्यवसायी बताउँछन्।
त्यस्तै आगामी आर्थिक वर्षका लागि घोषित बजेटमार्फत सुनको भन्सार शुल्क बढ्दा पनि मूल्यमा असर परेको हो। सुनको नयाँ भन्सार शुल्क लागू भइसकेको छ।
कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा लगानी खुम्चिदा सुनमा आकर्षण बढेको र त्यसले अन्तर्राष्ट्रिय बजारमा माग वृद्धि भई मूल्यमा असर पारेको व्यवसायीको भनाइ छ।
किन बढिरहेको छ मूल्य?
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा कतिपय उद्योगकलकारखानाहरु बन्द अवस्थामा छन्।
त्यस्तै व्यवसायीहरु अहिले कोरोनाका कारण नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित देखिँदैनन्। व्यवसायीले अहिले सुनमै आफ्नो लगानी सुरक्षित गर्न केन्द्रित भएकाले माग बढेको शाक्य बताउँछन्।
‘कोरोनाका कारण सुनको माग बढिरहेको छ, तर त्योअनुसार आपूर्ति हुनेगरी उत्पादन बढेको छैन’ उनले भने।
त्यस्तै बजेटले प्रतितोला २ हजार ३ सय रुपैयाँ भन्सार शुल्क बढाएकाले मूल्यमा त्यसको पनि असर देखिएको उनले बताए।
‘एउटा नेपाली नागरिकले अहिले एक तोला सुन किन्नुपर्यो भने उसले १० हजार रुपैयाँ त राजश्व मात्रै तिरेको हुन्छ, बजेटले बढाएको भन्सार शुल्कले पनि नेपालमा मूल्य वृद्धिमा असर पारेको हो’ उनले भने।