धेरै होइन, तीन-चार वर्षअघिको पुस-माघ फर्किनुस्। जाडोमा विशेषगरी युवा पुस्ताले कस्ता लुगा लगाउँथे?
चिटिक्क परेका विभिन्न कपडाका ज्याकेट, हुडी, कोट लगायत।
चीन लगायत देशबाट आएका यस्तै लुगा धेरैको रोजाइमा पर्थे। सस्तो, ट्रेन्डी र भने भनेको डिजाइनमा पाइने हुनाले अहिले पनि यो जमात कम भएको छैन।
तर यसपालि अलिकति याद गर्नुस्, न्यानो लुगा लगाउने भिडमा केही अलग पक्कै देख्नुहुन्छ- ऊनले बुनेका स्विटरहरू।
सबभन्दा पहिले ऊनले बुनेका लुगाको डिजाइनबारे थोरै जानकारी लिऊँ। हामी बोलिचालीका भाषामा माथि लगाउने ऊनीका जुनसुकै लुगालाई स्विटर भन्छौं। तर बुनेका ऊनी लुगा सामान्यतयाः दुई प्रकारका डिजाइनमा बढी बिक्री हुने 'बेसमार्क नेपाल' का अपरेशन प्रबन्धक गौरव पाठक बताउँछन्।
बेसमार्कका काठमाडौंमा चार ठाउँ र बुटवल, पोखरा, दमक र चितवनमा पनि पसल छन्। गौरवका अनुसार बुनेको लुगा 'कार्डिगन' र 'स्विटर' डिजाइनमा हुन्छ।
कार्डिगन अर्थात् टाँक लगाउन मिल्ने र स्विटर भन्नाले पूरै बुनेको। यो हाइनेक, टर्टल नेक, ओपन नेक लगायत डिजाइनमा पाइन्छ।
अझ अचेल ऊनको धागोबाट हातैले बुनिएका स्विटर-कार्डिगन चल्तीमा छन्। त्यो पनि अधिकांश हाम्रै देशमा बुनिएका। कुनै बेला हाम्रा आमा-हजुरआमा वा आन्टीहरूले लगाउने भनिने यी स्विटर-कार्डिगन अहिले युवाको रोजाइमा परेको छ। यसले ऊनी लुगाप्रति मान्छेको संकुचित धारणा फेरिएको व्यवसायीहरू बताउँछन्।
यसपालि ऊनले बुनेका स्विटर-कार्डिगन मात्र होइन, विभिन्न डिजाइनमा कुर्ती, सुरुवाल, स्कर्ट, आउटर समेत पसल-पसलमा झुन्ड्याइएका देखिन्छन्। अनलाइन स्टोरमा पनि छ्याप्छ्याप्ती पाउन सकिन्छ।
हातैले बुनेका स्विटर चल्तीमा आउनुको मुख्य कारण लकडाउनलाई पनि मान्छन् केही नयाँ व्यवसायी। उदाहरण हातलै बुनेका केटाकेटीका स्विटर, मोजा बिक्री गर्ने मिहाग नेपालकी सञ्चालक अलिशा अधिकारीलाई लिन सकिन्छ। उनले पहिल्यै सिकेको सीपलाई लकडाउनताक फुर्सदमा सदुपयोग गरिन् र बुनेका लुगाको बिक्री थालिन्।
ऊनले बुनेका स-साना सामान बेच्ने लिटल स्टफकी सञ्चालक सुवेक्षा श्रेष्ठ पनि यसमा सहमत छिन्। उनका अनुसार लकडाउन समय घरै रहँदा धेरैले बुन्न सिके। कतिले स्विटरै बुने, कतिले टोपी-मोजा त कोहीले ड्रिम क्याचर, बोतल ब्याग, मफलर, वार्मर, पर्स लगायत सामान बनाउन सिके।
सुवेक्षा आफैंले पनि त्यही बेला सिकेकी हुन्।
'लकडाउनमा ममीसँग बुन्न सिक्यौं,' ऊनका सामान बनाएर व्यवसाय थालनी गरेकी सुवेक्षा बताउँछिन्।
उसो त हातले बुनेका स्विटर-कार्डिगन ठूलो परिमाणमा बजारमा पाउन मुश्किलै हुन्छ। तर ऊनको लुगाको फेसन चलेको छ, रहर पूरा गर्ने कसरी?
ग्राहकको यो जिज्ञासा पसलहरूमा देख्न पाइन्छ। ऊन कपडाको बजार उक्लिएको हो भन्नेबारे बुझ्न हामीले केही व्यवसायीसँग कुराकानी गरेका छौं।
'नेपाल ऊल हाउस'मा विगत २२ वर्षदेखि कार्यरत सुरेन्द्र तुलाधरका अनुसार पहिलेका तुलनामा यो वर्ष ऊनका कपडा निकै बिकेको छ। हरेक उमेरका महिला तथा पुरुष ऊनका कपडामा आकर्षित छन्।
'पहिलेभन्दा अहिले बुनेका कपडाले बजार लिएको छ,' सुरेन्द्रले भने, 'पहिले बाक्लो ऊनको कपडा हुन्थे। यसपालि नरम ऊनको कपडा चलेको छ। यो तातो, लगाउँदा सजिलो र हेर्दा राम्रो देखिने भएर होला ग्राहकको रोजाइमा परेको छ।'
भोटाहिटीस्थित ऊल हाउसमा पुरुषको तुलनामा महिलाको बाक्लो भिड हुन्छ। ऊनको स्विटर, कार्डिगन, कुर्ती, आऊटर, क्रप-टप, पछ्यौरी, टोपी र स्कार्फले राम्रो बजार लिइरहेको छ। तर यहाँ पाइने कपडा भारत र चीनमा तयार हुने सुरेन्द्रले जानकारी दिए।
यहाँ सामान्यतयाः ऊनी स्विटर-कार्डिगनको ३ देखि ६ हजारसम्म पर्छ। मूल्य कपडाको डिजाइन, बुट्टा, ऊनको प्रकार अनुसार भिन्न पर्छ।
ऊल हाउस सञ्चालनमा आएकै झन्डै सात दशक भयो। यहाँ ऊनको कपडासँगै ऊन धागो मात्र पनि किन्न पाइन्छ। र यसपालि यो धागो निकै बिकेको सुरेन्द्रले जानकारी दिए।
'यो वर्ष ऊन राम्रो बिक्री भयो। खासगरी नरम र त्यसमा हल्का चमक भएको ऊन धेरैले लैजानुभयो,' उनले भने।
अचेल बजारमा चलेको ऊन पनि यस्तै त हो। बजारमा शुद्धभन्दा नाइलन मिसाइएको, सादाभन्दा चमकदार ऊनी कपडा धेरै देखिने 'बेसमार्क नेपाल'का अपरेशन प्रबन्धक गौरव पाठक बताउँछन्।
'जाडो भन्नेबित्तिकै ऊनी लुगाको ट्रेन्ड हो। तर तुलनात्मक हिसाबमा यसपालि बुनेको लुगाले बढी बजार लिएको छ,' गौरव भन्छन्, 'पहिले शरीरमा टपक्क टाँसिने लुगा बढी रूचाइन्थ्यो भने यसपालि खुकुलो र अलि ठूला स्विटर र कार्डिगनको ट्रेन्ड छ।'
अब मुख्य कुरा ऊनको ट्रेन्ड अहिले कसरी बढ्यो त?
फेसन डिजाइनर तरुनिका महतोका अनुसार यो सबै अन्तर्राष्ट्रिय फेसन शोहरूको प्रभाव हो। उनका अनुसार पछिल्लो समय नेपाली बजारमा बलिउडले मात्र होइन, हलिउड र एसियाली मुलुकका फेसनले पनि प्रभाव पारिरहेको छ।
'यसपालि अन्तर्राष्ट्रिय मोडलहरूले र्याम्प वाकमा ऊनका कपडा लगाएको पाइयो। व्यवसायीहरूले त्यही अनुरूप डिजाइन बनाउँदै बजारमा कपडा पुर्याए,' तरुनिका भन्छिन्, 'हेर्दा क्याजुअल र लगाउँदा न्यानो भएर होला, धेरैको रोजाइमा परिहाल्यो।'
बजारमा चलेको कार्डिगन १९८० दशकको फेसन रहेको समेत तरुनिकाले बताइन्। खुकुलो, कुमभन्दा तल बाहुलाको धर्को सिलाइएको, लुज टर्टल नेक जस्ता डिजाइन समेत फेरि फर्किएर आएको उनी बताउँछिन्।
यी बाहेक अहिले फेसन पारखीहरूले ऊनीको स्कर्ट र क्रप-टप पनि रूचाएको पाइन्छ।
'जाडोमा यसरी ट्रेन्ड फस्टाउनुलाई राम्रो मानेकी छु। पहिले नेपालमा जाडोमा फेसन, स्टाइल, ट्रेन्ड भन्ने नै थिएन। यसपालि ट्रेन्डी र स्टाइलिस कपडा भित्रिएका छन्,' तरुनिकाले भनिन्।
उनका अनुसार बजारमा फेरिँदो ट्रेन्डले बदलिँदो समाज पनि चित्रण गर्छ।
तरुनिका थप्छिन्, 'धेरैले आफूलाई जे सहज हुन्छ, त्यही लगाउन थाल्नुभएको छ। यसपालि बुढाबुढी र बच्चाले मात्र ऊन लगाउने भन्ने सोचाइमा पनि परिवर्तन देखियो।'
नेपालमा अधिकांश ऊन र ऊनी कपडा आयात नै हुने हो। यद्यपि व्यवसायीले पस्मिनालाई समेत जोड दिइरहेको तरुनिका बताउँछिन्।
'पस्मिना नेपाली वस्तु हो। यो ऊनको तुलनामा न्यानो पनि हुन्छ। तर तुलनात्मक हिसाबले महँगो भएकाले यसले बजार लिन सकेको छैन,' उनले भनिन्।