कोरोना नियन्त्रणका लागि लकडाउन गर्दा सरकारले दैनिक दस केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गर्यो। गत वर्ष चैतमा गरिएको यो व्यवस्था अहिलेसम्म कायमै छ। त्यसअघि दैनिक बीस केजीसम्मको कोटा निर्धारण गरिएको थियो।
आयातित सुनको परिणाममा कटौती गरिएपछि अहिले बजारमा सुनको चरम अभाव भएको व्यवसायीहरूले गुनासो गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले हाल व्यवसाय नै अवरुद्ध हुनेगरी सुनको अभाव भएको बताए। उनले भने, ‘कतिपय अर्डर फिर्ता पठाउनुपरेको अवस्था छ, लकडाउन खुले पनि हामीले व्यवसाय गर्न पाइएन।’
लकडाउन बेला आयातमा गरिएको कडाइ अहिलेसम्म कायम राखिनु जायज नभएको उनले बताए। सञ्चित विदेशी मुद्रामा कमी आउन सक्ने डरले सरकारले गत चैतदेखि सुनमा दैनिक कोटा दस केजीमा झारेका थियो।
मदिरा तथा महँगा सवारीसाधन आयातमा समेत प्रतिबन्ध लगाइएको थियो। यिनको बन्देज खुला भइसकेको छ तर सुनको कोटा भने बढाइएको छैन।
मुलुकमा सञ्चित विदेशी मुद्रा पर्याप्त हुँदा पनि सुनको आयातमा परिणात्मक कटौती गरिनु सान्दर्भिक नभएको व्यवसायी शाक्य बताउँछन्।
माघ मसान्तसम्म राष्ट्र बैंकसँग १२ अर्ब ५७ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चित छ। शाक्यका अनुसार हाल मुलुकमा २५ हजार सुनचाँदीका पसल छन्। हालको परिमाणले सबैलाई दैनिक ०.५ ग्राम पनि नपुग्ने अवस्था भएको उनले बताए।
लकडाउनमा रोकिएका विवाह, पूजा ब्रतबन्ध लगायत सांस्कृतिक पर्वहरू पनि धमाधम हुन थालेकाले सुनको माग अहिले बढेको उनले बताए। हाल दैनिक तीस केजी हाराहारीमा सुनको माग रहेको उनको भनाइ छ।
‘लकडाउनका कारण रोकिएका धेरै काम एकै पटक हुँदा सुनको माग बढ्नु स्वभाविक हो,’ उनले भने ‘मागअनुसार आपूर्ति बढाउन अहिले सरकारलाई केले रोक्यो?’
केही माग विदेशबाट आउनेले ल्याएको सुनले समेत धानेको छ। एक व्यक्तिले ५० ग्रामसम्म सुनका गरगहना तथा एक लाख रूपैयाँसम्मको जडित गहना ल्याउन पाउने व्यवस्था छ। त्योबाहेक अवैधानिक रूपमा भित्रिने सुनले समेत केही माग धान्ने गरेको छ। आयातमा कडाइ गर्दा अवैधानिक बाटोबाट आउने सुन बढ्न सक्ने जोखिम समेत रहेको शाक्य बताउँछन्।
एक केजी सुन आयात गर्दा भन्सार शुल्क मात्रै साढे आठ लाख रूपैयाँ उठ्छ। त्योबाहेक व्यवसायीबाट लिने कर, रोजगारी लगायत क्षेत्रमा समेत यसले मद्दत पुगेको शाक्य बताउँछन्।
बैशाखमा सुनको माग अझै उच्च हुने उनले बताए।
‘बैशाख बिहेको सिजन पनि भएकाले सुनको माग अझै बढ्छ,’ उनले भने, ‘आयातको कोटा नबढाए व्यवसाय नै बन्द गर्नुको विकल्प छैन।’
एक लाख रूपैयाँ प्रतितोला नाघेको सुनको मूल्य अहिले केही घटेकाले पनि माग बढ्न टेवा पुगेको उनी बताउँछन्। साउन २३ गते सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रूपैयाँसम्म पुगेर उच्च रेकर्ड बनाएको थियो। कोरोना भ्याक्सिनले मान्यता पाएसँगै मूल्य घट्दै आएको हो।
नेपालमा सुन आयात गरेर वितरण गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ। बैंकहरूले हाल दैनिक दस केजीका दरले सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गर्छन्। एक वर्षअघिसम्म नबिकेर बैंकहरूसँग थन्किएको सुन अहिले भने नरहेको बैंकर्स एसोसिएसनका एक अधिकारीले बताए।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म १५ अर्ब १ करोड रूपैयाँको सुन आयात भएको छ। जबकि गत वर्ष यसै अवधिमा जम्मा ९ अर्ब १९ करोड रूपैयाँको सुन आयात भएको थियो। एक वर्षको समीक्षा अवधिमा सुनको आयात ६३ प्रतिशत बढेको तथ्यांक छ।
एकातिर मूल्य नै बढ्दा आयातको आकार ठूलो देखिएको हो भने अर्कोतिर परिणाम नै बढेको छ। गत वर्ष तोलामा ६५ हजार आसपास रहेको सुनको मूल्य हाल ८७ हजार रूपैयाँ आसपासमा छ। अर्थात् मूल्य करिब ३३ प्रतिशत मात्रै बढ्दा आयात गर्दा बाहिरिएको रकम ६३ प्रतिशत बढेको छ।