वाणिज्य बैंकहरुले अब दैनिक २० केजी सुन आयात गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण २० केजी कायम गरिएको जनाएको छ।
कोरोना नियन्त्रणका लागि गत वर्षको चैतमा लकडाउन गर्दा सरकारले दैनिक दस केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो।
त्यसअघि दैनिक २० केजीकै कोटा छुट्याइएको थियो। १० केजीको व्यवस्था कायम गरिएपछि बजारमा सुनको चरम अभाव भएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए।
लकडाउनमा रोकिएका विवाह, पूजा ब्रतबन्ध लगायत सांस्कृतिक पर्वहरू पनि धमाधम हुन थालेकाले सुनको माग अहिले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले बताए।
हाल दैनिक तीस केजी हाराहारीमा सुनको माग रहेको उनको भनाइ छ।
केही माग विदेशबाट आउनेले ल्याएको सुनले समेत धानेको छ। एक व्यक्तिले ५० ग्रामसम्म सुनका गरगहना तथा एक लाख रूपैयाँसम्मको जडित गहना ल्याउन पाउने व्यवस्था छ। त्योबाहेक अवैधानिक रूपमा भित्रिने सुनले समेत केही माग धान्ने गरेको छ।
आयातकाे काेटा बढेपछि बजारकाे अभाव हट्ने उनले बताए।
एक केजी सुन आयात गर्दा भन्सार शुल्क मात्रै साढे आठ लाख रूपैयाँ उठ्छ। त्योबाहेक व्यवसायीबाट लिने कर, रोजगारी लगायत क्षेत्रमा समेत यसले मद्दत पुगेको शाक्य बताउँछन्।
बैशाखमा सुनको माग अझै उच्च हुने उनले बताए। एक लाख रूपैयाँ प्रतितोला नाघेको सुनको मूल्य अहिले केही घटेकाले पनि माग बढ्न टेवा पुगेको उनी बताउँछन्। साउन २३ गते सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रूपैयाँसम्म पुगेर उच्च रेकर्ड बनाएको थियो।
शुक्रबार सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म १५ अर्ब १ करोड रूपैयाँको सुन आयात भएको छ।
जबकि गत वर्ष यसै अवधिमा जम्मा ९ अर्ब १९ करोड रूपैयाँको सुन आयात भएको थियो। एक वर्षको समीक्षा अवधिमा सुनको आयात ६३ प्रतिशत बढेको तथ्यांक छ।