अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नेपालीमूलका फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पहिरन लगाएकी छन्।
बिहीबार अमेरिकी संसदको संयुक्त सत्रमा सहभागी हुने क्रममा घ्यू रङको प्यान्ट-सुट (प्यान्ट र ब्लेजर) र ब्लेजरभित्र क्यामिसोल (बाहुला नभएको टिसर्ट) कमलाले पहिरिएकी थिइन्।
उपराष्ट्रपति ह्यारिसको तस्बिर राख्दै डिजाइनर प्रबल गुरुङले ट्विट गरेका छन्।
जसमा लेखिएको छ- इतिहासकै महत्वपूर्ण क्षणका लागि तयार पारिएको डिजाइन।
उपराष्ट्रपति ह्यारिसले यसअघि सपथ ग्रहणपछिको प्रार्थनासभामा पनि प्रबल गुरुङले तयार गरेको लुगा लगाएकी थिइन्।
गत जनवरी २० मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए। त्यसबेला ह्यारिसले मरून कलर (कलेजी रङ) को लामो कोट लगाएकी थिइन्।