सामान्यतया बजारमा दुई हजारदेखि दस-बाह्र हजार रूपैयाँका 'लेदर' ज्याकेट पाइन्छ। हामी वा व्यापारीले लेदर भने पनि ती ज्याकेट साँच्चै लेदर हो कि होइन, हामी भेउ पाउँदैनौं।
हामी अनजान भएकै कारण कति व्यापारीले लेदर नै हो भनेर धेरै मूल्य समेत लिन्छन्।
उसो भए खास लेदर कसरी चिन्ने? ओरिजिनल वा मिसावट लेदर ज्याकेट कसरी थाहा पाउन सकिन्छ? यो बुझ्न हामी मैतीदेवीस्थित 'राइनो लेदर्स' कारखाना पुग्यौं।
लेदर ज्याकेट चिन्ने तरिका बुझ्नुअघि राइनो लेदर्सकै बारेमा जानौं।
राइनो लेदर्सले विशेषगरी छाला (लेदर) ज्याकेट बनाउँछ। प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोल पनि। यसको कारखाना र एउटा शोरूम मैतीदेवीमा छ। अर्को शोरूम दरबारमार्गमा।
यो कम्पनी बारा, कलैया मूलघर भएका उनका बुवा अमित साहले खोलेका हुन्। अमितले यो कामअघि थुप्रै क्षेत्रमा हात हालेका थिए। कहिले विद्युतीय सामान ल्याएर कारोबार गरे। कहिले नेपाली कपडा विदेश पठाए। कपडाको काममा निकै घाटा बेहोरे र केही समयपछि उनको गार्मेन्ट बन्द भयो।
यसपछि उनले 'राइनो लेदर्स' खोलेका हुन्। यो करिब एक दशकअघिको कुरा हो।
अहिले राइनो लेदर्स ब्रान्डका सामान अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र केही युरोपेली देश निर्यात हुन्छ। अमितका तीन छोरीमध्ये एलिसा साह यहाँकी सहसञ्चालक हुन्।
एलिसाले नै हामीलाई लेदर कसरी चिन्ने भन्ने जानकारी दिइन्।
उनका अनुसार सामान्यतया बजारमा पाइने लेदर ज्याकेट दुई किसिमका हुन्छन्। एउटा शुद्ध लेदर र अर्को रेग्जिन कपडा। शुद्ध लेदर महँगो र रेग्जिनको अलि सस्तो पर्छ। यसबाहेक अझै सस्तोमा आउने भने सिन्थेटिक वा 'फक्स' लेदर हुन्छन्।
रेग्जिन, फक्स, सिन्थेटिक जे भनिए पनि यी लेदर होइनन्। लेदर जस्तै देखिनेगरी बनाइएका कपडा हुन्।
शुद्ध लेदर थाहा पाउन त्यसको कपडा गुणस्तर चिन्न सक्नु पर्छ।
एलिसाका अनुसार शुद्ध लेदर बाहिरपट्टि खस्रो हुन्छ, भित्र नरम। झलक्क हेर्दा बाहिर र भित्र दुवैतिर यो पूर्ण चट्ट देखिँदैन। किनकी यो जनावरको छाला हो र यसको गन्ध पनि छालाकै जस्तो आउँछ।
तर रेग्जिन ज्याकेट भने बाहिर पट्टि चिल्लो हुन्छ। अनि भित्र त सामान्य कपडा जस्तै नै। यसको गन्ध पनि बेग्लै हुन्छ।
यत्ति थाहा पाउन सके पनि लेदर र रेग्जिन ज्याकेट छुट्टिन्छ।
अब किन्न जाँदा हेर्नुस् है।
कसैले तपाईंलाई ओरिजिनल लेदर हो भनेर दावी नै गरेर धेरै मूल्य लिन खोज्यो, तर तपाईंलाई शंका लाग्यो। भित्रपट्टिको भाग पनि देख्न पाउनुभएन भने अर्को उपाय छ- फायर टेस्ट।
शुद्ध छाला (लेदर) मा झट्ट आगो लाग्दैन। यसो सल्काइ हेर्दा कपडामा आगो लाग्यो भने त्यो रेग्जिन कपडा हुने एलिसा बताउँछिन्। अनि सल्काउँदाको गन्ध पनि फरक हुन्छ।
ओरिजिनल लेदरका ज्याकेट जोगाउन पनि मिहिनेत नै पर्छ। बिग्रिएका लेदर ज्याकेटलाई कसरी बनाउन र सफा गर्न सकिन्छ भन्नेबारे पनि एलिसाले हामीलाई जानकारी दिइन्।
यसबारे बुझ्न भिडिओ ब्लग हेर्नुस् है।
राइनो लेदर्ससँग फेसबुक पेज वा ९८५१०२४९२४ मा सम्पर्क गर्न सकिन्छ।