कोरोना महामारीसँगै विश्वको अर्थतन्त्र निकै धर्मरायो। बिस्तारै अर्थतन्त्रले गति लिँदै गरे पनि नेपालको अर्थतन्त्रका सूचकहरू सोचेजस्तै हुन सकिरहेका छैनन्।
कोरोनाअघि उदाएका कतिपय व्यवसायीहरू कोरोनापछि अस्ताएको पनि प्रशस्तै उदाहरण छन्।
महामारीकै कारण धेरैको रोजगारी गुमेको छ भने धेरै युवा जनशक्ति पेशाबाट पलायन भएका छन्।
यसबीचमा युवाहरूमा धैर्यता जगाइराख्नका लागि सरकार र अन्य निकायले पहल गर्नुपर्नेमा व्यवसायीहरूको जोड रहिरह्यो।
कतिपय व्यवसायीहरू अहिले पनि महामारीपछि समय आफू अनुकूल हुने प्रतीक्षामा बसिरहेका छन् भने कतिपय अहिले पनि बिस्तारै होला भन्दै अगाडि बढिरहेका छन्।
यही भीडमा युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर र सेलियो नेपाल भित्र्याउने भएका छन्।
काठमाडौंमा आगामी वैशाखदेखि यी दुई ब्राण्ड सञ्चालनमा ल्याउँदैछन्। दरबारमार्गमा शोरूम राखेर सञ्चालनको तयारी भइरहेको पाण्डेयले बताए। टमी हिलफिगर अमेरिकी र सेलियो युरोपियन ब्राण्ड हो।
आर.पी. ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेय अहिले महामारीपश्चात पुनरूत्थानको समय भए पनि मुलुकमा अस्थिर राजनीति र अन्य थुप्रै कारणले तत्कालै व्यवसायिक ‘मूड’मा फर्कने परिस्थिति नरहेको सुनाउँछन्।
उनले आफ्नै कम्पनी आर.पी ग्रुप अन्तर्गत आर.पी. ट्रेडिङमार्फत् व्यवसाय सञ्चालन गरिरहेका छन्।
ट्रेडिङमार्फत काठमाडौं उपत्यकामा ब्राण्डेड लुगा, जुत्ता तथा ब्याग शोरूमहरूमा उनले कब्जा नै जमाएका छन्।
अहिले उनीसँग उपत्यकामा मात्रै २ दर्जन रिटेल शोरूमहरू रहेका छन् भने उपत्यकाबाहिर पनि प्रशस्तै शोरूम छन्।
यीमध्ये काठमाडौंको दरबारमार्गमा रहेको उनको ‘द मिलानो’ तथा ललितपुरको लाबिम मलमा रहेका ‘लुई फिलिप तथा इण्डियन टेरेन’ शोरूम चर्चित छन्।
अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता तथा महिलाका पहिरन भित्र्याएर बिक्री गरिरहेका छन् उनी।
कोरोना महामारी फैलिएसँगै सुस्त बनेको अर्थतन्त्र महामारी सुरू भएको करिब २ वर्षपछि पुनरूत्थानको बाटोमा छ।
कोरोना भाइरस विरूद्धको खोपको व्यवस्था भएसँगै अधिकांश क्षेत्रहरू अहिले चलायमान भएका छन्।
गत भदौबाट सबै क्षेत्र चलायमान रह्यो। तर व्यापार त्यति धेरै फष्टाउन भने भ्याएन।
सुरूका केही महिनामा आफ्नो व्यवसाय निकै राम्रोसँग चलेको पाण्डे सुनाउँछन्।
‘चाडवाडको समयमा व्यवसाय राम्रो भएको थियो,’ उनी भन्छन्,‘अहिले मौसम पनि चिसोचिसो छ, व्यवसाय तातिहाल्न सकेको छैन।’
तर पनि व्यवसाय विस्तार गर्ने योजनामा इँटा थप्न उनी लागिपरेका छन्।
हालै उनको बनेपामा नयाँ शोरूम सञ्चालनमा आएको छ। अन्य सहर तथा बजारमा पनि ब्राण्डेड कपडा तथा जुत्ता पुर्याउने सोचका साथ अहिले उनी काम गरिरहेका छन्।
आफू अहिले व्यस्त हुनुको पछाडि कोरोनाले पाठ सिकाएको उनी सुनाउँछन्।
भन्छन्,‘महामारीले मलाई पाठ सिकायो, जस्तोसुकै विपतमा पनि आत्तिनुहुन्न। अहिले यही सिकाइलाई आत्मसाथ गर्दै म व्यवसाय विस्तारबारे सोचिरहेको छु।’