बजारमा काँचो सुनको मौज्दात सकिएसँगै गहना अर्डर गर्न आउने ग्राहकलाई फर्काउनु पर्ने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चैत अन्तिम सातादेखि नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरूलाई मौखिक निर्देशन दिएपछि बजारमा काँचो सुनको मौज्दात सकिएको महासंघले जनाएको छ।
व्यवसायीहरूका अनुसार एलसी नखोल्न निर्देशन दिनुअघिसम्म बैंकसँग लगभग एक सय ६० किलो सुन थियो।
अहिले बैंकसँग काँचो सुन सकिसकेको छ। धेरैजसो ग्राहकहरूले ल्याएर दिएका सुन बिगारेर नयाँ बनाउने काम भइरहेको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए।
बिहेकै सिजनमा बजारमा काँचो सुनको अभाव भएपछि महासंघ सम्बन्धित निकायसँगको छलफलमा जुटेको छ।
'बजारमा सुन अभाव भइसक्यो। गहना अर्डर गर्न आउने ग्राहकलाई फर्काउनु पर्ने अवस्था आइसक्यो,' उनले भने, 'आइतबार मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गर्न जाँदैछौं।'
सरकारको यो नीतिले पैसा भएर पनि सुन किन्न नपाउँदा उपभोक्तामा नकारात्मक असर पर्न सक्ने उनले बताए।
'पैसा खर्च गरेर पनि किन्न नपाउँदा उपभोक्तामा नकारात्मक असर पर्न सक्छ,' उनले भने, 'अब तत्कालै वैकल्पिक उपायको खोजी गर्नुपर्छ।'
उनका अनुसार सरकारको यो निर्णय कहिलेसम्म हो भन्ने यकिन नभएकाले सुन व्यवसायी नै अलमलमा परेको छ। सुन बनाउने काम ठप्प हुँदा सुन व्यवसाय आश्रित कामदार पलायन हुने उनको भनाइ छ।
शुक्रबार सुन प्रतितोला एक लाख दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७३अमेरिकी डलरमा कारोबार भइरहेको छ।