चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो।
तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोभन्दा बढी सुन आयात भएको छ। सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व संकलन गरेको छ।
सार्वजनिक विवरण अनुसार नेपालमा युएई र टर्कीबाट धेरैजसो सुन भित्रिने गरेको देखिन्छ।
चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्यांक छ।
युएईबाट सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व संकलन गरेको छ।
टर्कीबाट पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको सुन आयात भएको छ।
केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ।
विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ।
अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ।
गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ।