नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ।
गत सोमबारदेखि घट्न थालेको सुनको मूल्य आज चौथो दिन बिहीबार पनि घटेको छ।
सोमबारदेखि बिहीबारसम्म सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटिसकेको छ।
सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला सात सय रुपैयाँ, बुधबार प्रतितोला पाँच सय रुपैयाँ र आज प्रतितोला तीन सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।