चिसो मौसममा लेदर (छाला)को ज्याकेट धेरैको रोजाइमा पर्छ। जाडो महिना नजिकिँदै गर्दा तपाईंहरूमध्ये कतिले लेदर ज्याकेट खरिद गर्ने सोच्नु पनि भएको होला। कतिले अगावै खरिद गरेर प्रयोग गरिरहनु भएको होला।
जाडो महिना नजिकिएसँगै लेदर ज्याकेटको माग बढ्ने ह्युमन फिट क्राफ्टका उत्पादन प्रबन्धक बिक्की बज्रचार्य बताउँछन्। '८० प्रतिशत लेदर ज्याकेटको बिक्री जाडो महिनामै हुन्छ। लेदर ज्याकेट लगाउँदा न्यानो हुने र स्टाइलिस पनि देखिने हुँदा माग बढ्छ भन्न मिल्छ,' उनले भने।
ह्युमन फिट्स क्राफ्टले सन् १९८० देखि छाला (लेदर)को ज्याकेट बनाउँदैछ। यसबाहेक झोला, पर्स, पेटी, पन्जा पनि बनाउँछ। बजारमा छालाको उत्पादनको राम्रो माग हुने सञ्चालक बताउँछन्।
लेदर ज्याकेट जतन गरेर लगाउने हो भने एक दशक पनि केही नहुने छालाको सामग्री उत्पादन र बिक्री गर्ने विक्रेताहरू बताउँछन्। आज हामी तपाईंहरूलाई छालाको ज्याकेट कसरी जतन गर्न सकिन्छ भन्ने केही टिप्स (सुझाव) दिँदैछौं।
१. लेदर ज्याकेटलाई दराजमा पट्याएर राख्नु हुँदैन। सधैं ह्यांगरमा झुन्ड्याउने गर्नुस्। पट्याएर वा गुम्स्याएर राख्दा ज्याकेट कोरिन सक्छ।
२. लेदर ज्याकेटमा बजारमा पाइने लेदर व्याक्स वा क्रिम मात्रै लगाउने गर्नुस्। यसलाई साबुन/सरफ-पानीले धुन मिल्दैन। त्यसैले लेदर व्याक्सको प्रयोग गर्नु उचित हो।
३. समय-समयमा आफ्नो ज्याकेट पोलिस गर्न दिनुस्। ज्याकेट खरिद गर्नुभएको पसलबाटै उक्त सेवा लिन सकिन्छ। पोलिसिङ आफै घरमा गर्न सम्भव छैन।
४. लेदर ज्याकेट पानी पर्ने बित्तिकै बिग्रन्छ भन्ने होइन। पानी परेको खण्डमा यसलाई पुरै नसुकिन्जेल प्रयोग नगर्ने। ज्याकेट सुकाउँदा चर्को घाममा भने सुकाउनु हुँदैन। घामको छाया पर्ने ठाउँमा सुकाउनुस्।
५. कुनै पनि खालको सेफ्टिपिन वा अन्य ब्याच लेदर ज्याकेटमा नलगाउनुस्। यसमा केही सिलाई गर्नुपरेमा सियोको प्रयोग नगर्नुस्। ज्याकेट खरिद गर्नुभएकै ठाउँमा मर्मतको लागि लैजानुहोस्।
६. ज्याकेटको भित्री भाग सफा गर्नुपरेमा चिसो कपडाले पुछ्नुस् र घामको छाया पर्ने ठाउँमा सुकाउनुस्। किनभने यसलाई पानीमा सिधैं धुनु हुँदैन।
यसरी छालाको ज्याकेटलाई जतन गरेर लगाउन सकियो भने वर्षौ टिक्छ।
बजारमा पाइने लेदर ज्याकेट दुई किसिमका हुन्छन्। एउटा शुद्ध लेदर र अर्को रेग्जिन कपडा। शुद्ध लेदर महँगो र रेग्जिनको अलि सस्तो पर्छ। ग्राहकहरू कुन शुद्ध र कुन रेग्जिनको भन्नेमा झुक्किने सम्भावना हुन सक्छ। शुद्ध लेदर छुट्याउने सजिलो तरिका छ।
शुद्ध लेदर बाहिरपट्टि खस्रो हुन्छ भने भित्र नरम हुन्छ। यसको गन्ध पनि छालाकै जस्तो आउँछ। तर रेग्जिन ज्याकेट बाहिरपट्टि चिल्लो हुन्छ। भित्र सामान्य कपडा जस्तै हुन्छ। यसको गन्ध पनि बेग्लै हुन्छ।
त्यस्तै शुद्ध लेदरमा आँगो बाल्दा बल्दैन। छालाको गन्ध मात्रै आउँछ। तर रेग्जिनमा आँगो बाल्दा आँगो नै लाग्छ।
बजारमा शुद्ध लेदर ज्याकेट ८ हजारदेखि खरिद गर्न सकिन्छ। ज्याकेट बनाउन लागेको कपडा र डिजाइन अनुसार मूल्यमा फरक पर्छ।
बजारमा छालाको ज्याकेटसँगै जाडो मौसममा छालाको पन्जा, छालाको जुत्ता र छालाको चेस्ट गार्ड (छातीमा हावा छिर्नबाट रोक्न लगाइने कपडा)को माग पनि बढ्ने व्यवसायीहरू बताउँछन्।