सुनको मूल्य पछिल्ला दिनमा लगातार बढिरहेको छ।
मंगलबार मात्रै प्रतितोला सुनको मूल्य एकै दिन नौ सय रूपैयाँले वृद्धि भएर एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यलाई युक्रेन र रसियाबीचको द्वन्द्वले समेत नछोएको टिप्पणी गरिन थालिएको छ।
'सन् २०२० मा मूल्य वृद्धि कम थियो, यो कुनै मुद्दा नै बनेको थिएन तर सुनको मूल्य सोही वर्ष अगष्टमा प्रतिऔंस दुई हजार ७५ डलरमा कारोबार भइरहेको थियो,' स्मल क्याप्स डटकममा रोविन ब्रोमबाइले लेखेका छन्, 'तर, सन् २०२२ मा मूल्य वृद्धि उच्च दरमा बढ्यो, तर, सुनको मूल्य प्रतिऔंस दुई हजारमा पुगेर पनि त्यहा अडिन सकेन।'
हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ८ सय तीन डलरमा कारोबार भइरहेको छ।
तर, सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस २ हजार डलर माथि नै रहने अनुमान गरिएको छ।
आखिर किन बढिरहेको छ सुनको मूल्य?
सुनको मूल्य बढ्नुमा विभिन्न कारण छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन्।
द वर्ल्ड काउन्सिलका अनुसार अघिल्लो वर्ष सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा विश्वभरका केन्द्रीय बैंकहरूले ६ सय ७३ टन सुन खरिद गरेका छन्।
चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ।
सन् २००८ मा विश्वव्यापी मन्दि छाउँदा विश्वका केन्द्रीय बैंकहरूले उच्च दरमा सुन बिक्री गरेका थिएन। पछिल्लो समय भने खरिददारी बढाइरहेका छन्।
पछिल्लो समय सुनको मूल्य वृद्धि हुनुमा चीनलगायतका देशमा कोभिड पुनः देखिन थालेको, विश्वभर आर्थिक मन्दीको सम्भावना बढेको कारण सुनको माग र मूल्यमा वृद्धि भइरहेको छ।
त्यस्तै, अमेरिकाको केन्द्रीय बैंकले यसअघि छिटोछिटो नीतिगत ब्याजदर वृद्धि गरिरहेकोमा आगामी दिनमा यस्तो परिवर्तन सोही रफ्तारमा नगर्ने देखिएपछि पनि सुनको मूल्यमा आकर्षण बढिरहेको हो।