आइतबार नेपाली बजारमा सुनको भाउ तोलाको एक लाख १० हजार रूपैयाँ पुग्यो। सोमबार केही सस्तिएर एक लाख नौ हजार तीन सय रूपैयाँ भयो। यो अझै पनि उच्च मूल्य नै हो।
किन बढिरहेको छ सुनको भाउ?
नेपाली बजारमा सुनको भाउ बढ्नुमा विश्व बजारको भूमिका छ। सुन सर्वस्वीकार्य सम्पत्ति माध्यम भएकाले युद्ध, महामारी, विश्वव्यापी मन्दी जस्ता समस्यामा यसको मूल्य बढ्छ।
भर्खरै मात्र, केही समयको अन्तरालमा अमेरिकाका तीन बैंक डुबे। सिलिकन भ्याली बैंक, सिल्भरगेट बैंक र सिग्नेचर बैंक समस्यामा परे। यी बैंक प्रणालीगत जोखिम निम्त्याउने किसिमका होइनन्। तैपनि यसको प्रभाव डलरमा पर्ने देखिएसँगै सुनमा मानिसहरू आकर्षित भएका हुन्।
अमेरिकाकै १४ औं ठूलो, फर्स्ट रिपब्लिक बैंकमा समेत समस्या देखिन थालेको छ। योसँगै अमेरिकी सरकारले अन्य बैंकहरूलाई फर्स्ट रिपब्लिकको उद्धार गर्न पनि भन्यो। हाल ११ वटा बैंकले फर्स्ट रिपब्लिकलाई ३० अर्ब डलर रकम प्रदान गरेका छन्।
अमेरिकामा मात्र होइन, स्विट्जरल्यान्डका बैंकमा समेत समस्या हुन थालेको संकेत देखिएको छ। युनियन बैंक अफ स्विट्जरल्यान्डले क्रेडिट सुसी बैंक किन्न लागेको छ। यसका लागि युनियन बैंक अफ स्विट्जरल्यान्डका सेयर लगानीकर्ताको मत आवश्यक नपर्ने गरेर नीति नै परिवर्तन गर्न लागिएपछि वास्तवमै बैंकिङ क्षेत्रमा नराम्रो अवस्था रहेको आकलन गरिएको छ।
भारतीय विश्लेषक सुगन्धा सचदेवाका अनुसार विकसित मुलुकका बैंकहरूमा आएको समस्या, हालै युरोपियन केन्द्रीय बैंकले ५० आधार विन्दुले बढाएको ब्याजदरका कारण युरोपियन मुद्रा युरो बढिरहेको छ। डलरको मूल्य भने घटिरहेको छ। यसले पनि सुनको भाउ बढाउन सहयोग पुगेको छ।
अर्कोतर्फ प्राविधिक विश्लेषण आधारमा सुनको कारोबार मूल्यमा देखिएको प्रतिऔंस १९३० डलरको प्रतिरोध समेत पार गरेकाले सुनको मूल्य थप बढ्ने आकलन छ। यसै साता सुनको मूल्य प्रतिऔंस २ हजार डलर अर्थात् प्रति दस ग्राम भारू ६० हजार पुग्ने अनुमान भारतीय विश्लेषकहरूको छ।
यसो भएमा नेपालमा पनि मूल्य तोलाको एक लाख २१ हजार हाराहारी आउने सम्भावना हुन्छ।
यो मूल्य सुन नेपाल भित्र्याउँदा लाग्ने भन्सार शुल्कसहित हो। हाल सुन आयात गर्दा दस ग्राममा आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ।
यद्यपि अमेरिकी केन्द्रीय बैंक फेड (फेडरल रिर्जभ बैंक) को मार्च २१ र २२ मा बस्ने बैठकले सुनको मूल्यको भावी दिशा निर्धारण गर्नेछ। फेडले नीतिगत ब्याजदर बढाए सुनको मूल्य थप बढ्ने छ।
फेडले ब्याजदर थप बढाउने निर्णय नगेरर हालकै ब्याजदर कायम रहने निर्णय गरे पनि सुनको मूल्य वृद्धि हुने भारतीय लगानी कम्पनी स्वस्तिका इभेष्टमार्टका विश्लेषक निरपेन्द्र यादव बताउँछन्।