निरन्तर उकालो लाग्दै सुनको मूल्य ५७ हजार पुगेको छ। अघिल्लो दिनभन्दा प्रतितोला ३ सय रुपैयाँले महँगिएर आइतबार ५६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बजारमा भने ५७ हजार रुपैयाँमै सुनको कारोबार भइरहेको छ। तीजमा धेरै सुन बिक्री भइसकेको र दैनिक २० केजी कोटाले माग धान्न नसकिरहेकाले महासंघले तोकेभन्दा सुनको मूल्य बजारमा सामान्य बढी पर्ने गरेको व्यवसायीहरु बताउँछन्।
एक महिनामै सुनको मूल्य तोलामा २८ सय रुपैयाँले महँगो भएको छ। गत साउन २२ गते प्रतितोला ५४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। अन्तर्राष्ट्रियस्तरमा द्वन्द्वको स्थिति उत्पन्न हुनु नै सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण रहेको सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले जानकारी दिए।
उत्तर कोरियाले बारम्बार शक्तिशाली मिसाइल परीक्षण गरी अन्तर्राष्ट्रिय समुदायलाई त्रसित पारेपछि सुनको मूल्य महँगो भएको तुलाधरले स्पष्ट पारे। ‘द्वन्द्व बढ्दै जाँदा विश्वका लगानीकर्ताले सुनमा लगानी बढाएका हुन्, यसले गर्दा अन्तर्राष्ट्रियस्तरमै सुन महँगो भएको छ, त्यसले स्वभाविक रुपमा नेपालमा असर परेको हो’ सेतोपाटीसितको कुराकानीमा उनले भने।
सुनको मूल्य एकाएक बढ्नुको अन्य कारण भने नरहेको उनले स्पष्ट पारे। यदी द्वन्द्व बढ्दै गएमा सुनको मूल्य नघट्ने र अझ बढ्न सक्ने तथा स्थिति सामान्य भएमा घट्न सक्ने महासंघको ठम्याई छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनभन्दा प्रतितोला १० रुपैयाँले महँगिएर चाँदी ७८० कायम भएको छ। एक महिनामा चाँदी तोलामा ५५ रुपैयाँ महँगिएको छ।