निरन्तर बढेको एक हप्तापछि बल्ल आज सुनको मूल्य सामान्य घटेको छ। गत बिहीबारदेखि एकोहोरो उक्लिरहेको सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको हो।
सुन अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ सस्तो भएको छ भने चाँदी पाँच रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो ५७ हजार ५ सय रहेकोमा आज ५७ हजार २ सय कायम भएको छ।
त्यस्तै चाँदीको मुल्य हिजो प्रतितोला ७९० भएकोमा आज ७८५ कायम भएको छ। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै जाँदा त्रासकै कारण सुनको मूल्य निरन्तर उक्लिँदै आएको थियो।
उत्तर कोरियाले अमेरिकी सेना रहेको जापानी टापुमा समेत आक्रमण गर्ने चेतावनी दिएपछि लगानीकर्ता सुनमा आकर्षित भएका छन्। जसले माग बढ्दै सुनको मूल्य उच्च दरमा बढेको थियो।