तिहार नजिकिँदै गर्दा सुनचाँदी महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक साताको अवधिमा प्रतितोला ९ सय रुपैयाँ तथा चाँदी २५ रुपैयाँले बढेको छ।
गत शुक्रबार प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५६ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य गत शुक्रबार ७५० रुपैयाँ रहेकोमा आज ७७५ कायम भएको छ।
गत वर्षको तिहारको समयमाभन्दा यसपालि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य केही सस्तो भएको छ। गत वर्ष तिहारका बेला सुनको मूल्य ५५ देखि साढे ५५ हजार रुपैयाँको बीचमा रहेको थियो।
त्यस्तै गत वर्षको तिहारमा चाँदीको मूल्य ८ सय रुपैयाँको हाराहारीमा रहेकोमा यसपटक तिहारको एक हप्ताअघि ७७५ रुपैयाँमा कारोबार भएको छ। तिहारका बेला चाँदीको माग बढ्ने गरेको छ।