लक्ष्मी पूजाको अघिल्लो दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। गत सोमबार सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय रुपैयाँ रहेको थियो भने मंगलबार ५६ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि यस दिन घटेको छ। अघिल्लो दिन प्रतितोला ७७५ रुपैयाँ रहेको चाँदी यस दिन ७७० मा झरेको छ। लक्ष्मी पूजाका लागि सुन तथा चाँदीका सिक्का, भाँडा तथा गरगहना किन्ने चलन रही आएको छ। जसले गर्दा यतिबेला सुनचाँदीको माग समेत सामान्य दिनमा भन्दा दोब्बरले बढेको छ।
महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार यतिबेला दैनिक सरदर ५० केजी सुनको माग रहेको छ। सामान्य दिनमा २५ केजीको हाराहारीमा माग रहेकोमा दसैँ तथा तिहारको अवधिका कारण माग दोब्बरले बढेको शाक्यले जानकारी दिए।
त्यस्तै चाँदीको माग पनि दोब्बरभन्दा बढीले बढेको छ। सामान्य दिनमा दैनिक ४५० केजी चाँदीको माग हुने गरेकोमा यतिबेला १ हजार केजी पुगेको उनले बताए।
‘लक्ष्मीपूजाका लागि भनेर सुन तथा चाँदीका सिक्का, गरगहना र भाँडा किन्ने चलन रहीआएको छ, जसले गर्दा माग सामान्य दिनमा भन्दा यो बेला दोब्बरले बढेको छ’ उनले भने।