तिहारयता सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। तिहारअघि अन्तिम कारोबार हुँदा सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ रहेकोमा आज बुधबार ५५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा भने यो २ सय रुपैयाँ मात्रै कम हो। यसअघि मंगलबार ५५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यो ९९. ९ प्रतिशत शुद्ध अर्थात ‘फाइन’ सुनको मूल्य हो।
त्यस्तै ९९. ५ प्रतिशत शुद्ध अर्थात ‘स्टान्डर्ड’ सुनको मूल्य फाइनको भन्दा ३ सय रुपैयाँ कम हुने गर्दछ।
सुनको मूल्यसँगै चाँदी पनि सस्तिएको छ। तिहारयता चाँदी तोलामा १० रुपैयाँले घटेको छ। तिहारअघि अन्तिम कारोबार हुँदा ७७० रुपैयाँ रहेको चाँदी बुधबार तोलामा ७६० रुपैयाँ कायम भएको छ।