रुपन्देहीमा यसवर्ष पनि असार महिनाको विकास खर्च बढेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार असारमा मात्रै २ अर्ब ४६ करोड ९३ लाख ८३ हजार २ सय ३६ रुपैयाँ खर्च भएको छ। यो रकम पुँजीगत तर्फको कुल बजेटको ३२ दशमलव ३९ प्रतिशत हो।
गत आर्थिक वर्षमा जिल्लामा पुँजीगततर्फ ७ अर्ब ६२ करोड २६ लाख २७ हजार बजेट निकासा भएको थियो। जसमध्ये जम्मा ६ अर्ब ३३ करोड १७ लाख ९९ हजार रकम खर्च भएको छ । यो पूँजीगततर्फको कुल बजेटको ८३ दशमलव ०७ प्रतिशत हो।
आर्थिक वर्षको ११ महिनामा पुँजीगत तर्फको कुल बजेटको ५० दशमलव ६८ प्रतिशत खर्च हुँदा असार महिनामा भने ३२ दशमलव ३९ प्रतिशत खर्च भएको छ। जिल्लामा ११ महिनामा ३ अर्ब ८६ करोड २४ लाख १६ हजार ६ सय ४५ खर्च भएको थियो। असारमा महिनामा मात्र २ अर्ब ४६ करोड, ९३ लाख ८३ हजार २ सय ३६ रुपैयाँ खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख चन्द्रप्रसाद भुसालले विगतमा जस्तै यस वर्ष पनि असारे विकास खर्च बढेको बताए। ‘एकातर्फ ११ महिनामा काममा खासै तदारुकता नदेखाउने कार्यालय र ठेकेदारले अन्तिम महिनामा हतारहतारमा काम गर्ने गर्छन्, अर्कोतर्फ अघिल्ला महिनाहरुमा भएका कतिपय कामहरुको भुक्तानी पनि असार महिनामा हुँदा बढी खर्च देखिएको हो’ उनले भने।
जिल्लामा संचालित ठूला आयोजनाले पनि विगतको भन्दा विकास खर्च धेरै गरेका छन्। बुटवल सभाहल, सिचाइँ आयोजना, डिभिजन खानेपानी, व्यापारिक मार्ग, डिभिजन सडक कार्यालयको, संघीय खानेपानी लगायतको बजेट खर्च विगतको भन्दा राम्रो देखिएको कार्यालयले जनाएको छ।
कार्यालयहरुले असार महिनामा कुल बजेटको ८ देखि ८५ प्रतिशतसम्म खर्च गरेका छन्। सिचाइँ डिभिजन कार्यालयले खर्च भएको सबै बजेट असार महिनामा गरेको छ। सिचाइँले गत वर्ष १८ करोड ३० लाख ८४ हजार बजेट विनियोजन गरेकोमा १५ करोड, ६२ लाख ३६ हजार ५ सय १० रुपैयाँ खर्च गरेको छ। यो सबै असार महिनामा गरिएको खर्च हो।
त्यस्तै बजेटको ६६ दशमलव ०८ प्रतिशत खर्च गरेको भैरहवा लुम्बिनी भूमिगत जलस्रोत परियोजनाले ५३ दशमलव ७७ प्रतिशत असार महिनामा मात्र गरेको छ। कार्यालयले गत आर्थिक वर्षको लागि १२ करोड ५७ लाख १७ हजार ८ सय ४९ बजेट विनियोजन गरेको थियो। जसमध्ये ८ करोड ३० लाख ७९ हजार ६ सय ५ खर्च भएकोमा असारमा मात्र ६ करोड ३३ हजार ७ सय ७३ रकम खर्च गरेको छ।
गत वर्ष सबैभन्दा धेरै बजेट खर्च गरेको बुटवल सभाहलको असार महिनाको खर्च भने कम छ। बजेटको ९९ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको सभाहलको असार महिनाको खर्च जम्मा ८ दशमलव ६७ प्रतिशत छ। गतवर्ष १४ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको कार्यालयले १४ करोड ८७ लाख ९५ हजार ६ सय १७ रुपैया खर्च गरेको छ।
असार महिनामा हुने खर्च बढेपनि समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको भन्दा यसवर्ष पूँजीगत खर्च भने घटेको छ। अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा पुँजीगत तर्फ ८६ दशमलव ६३ प्रतिशत खर्च भएको थियो। रकममा हेर्दा गतवर्ष पूँजीगत तर्फ ६ अर्ब ९५ करोड २१ लाख खर्च भएको थियो।
यता चालु खर्चतर्फ भने यसवर्ष प्रगति बढेको छ। चालुतर्फ आर्थिकवर्ष ०७५/७६ मा मा २९ अर्ब ५९ करोड ४७ लाख ५९ हजार बजेट छुट्याइएकोमा २८ अर्ब ४ करोड ४८ लाख खर्च भएको छ। यो बजेटको ९४ दशमलव ७५ प्रतिशत हो। गतवर्ष ९१ दशमलव ७० प्रतिशत अर्थात् १२ अर्ब ९९ करोड ८४ लाख खर्च भएको थियो।
जिल्लामा आर्थिकवर्ष ०७५/०७६ मा चालु र पुँजीगत गरी ३७ अर्ब २१ करोड ७३ लाख ८६ हजार बजेट छुट्याइएको थियो। कोष तथा लेखा नियन्त्रक प्रमुख भुसालले असारमा खर्च बढी भएपनि विगतमा भन्दा खर्च गर्ने परिपाटी बढेको बताए।
कार्यालयका अनुसार जिल्लाका १६ स्थानीय तहले पनि ९८ देखि शतप्रतिशत बजेट खर्च गरेका छन्। असारे वर्षासँगै सडक कालोपत्रे, नाली तथा कल्भर्ट र भवन निर्माण गरिएका समाचार सार्वजनिक भइरहेका बेला स्थानीय तहहरुले विनियोजन गरेको बजेट भने शतप्रतिशत खर्च गरेका हुन्।