बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटीको बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यालय हान्निए।
बैठकस्थल सभागृहबाट काठमाडौंको सुन्धरास्थित निगमको कार्यालय पुगेका मन्त्री भट्टराईले निगमका उच्चअधिकारीलाई भने,‘आज म तपाईंको कुरा सुन्छु ।’
अपरान्ह्र ४ बजे देखि सुरु भएको छलफलमा निगमका अध्यक्ष समेत रहेका पर्यटनमन्त्रालयका सचिव केदारबहादुर अधिकारी, निगमका सबै विभागका विभागीय प्रमुख तथा कर्मचारीका प्रतिनिधिहरु उपस्थित थिए।
छलफलमा निगमका विभागीय प्रमुखहरुले सम्बन्धित विभागका अवस्था, समस्या र सम्भावना बारेमा रिपोटिङ्ग प्रस्तुत गरे।
विभागीय प्रमुखहरुले रिपोर्टिङ्ग प्रस्तुत गरीरहदा मन्त्री भट्टराईले बिच–बिचमा प्रश्न सोधेर गहिरो गरी अवस्था बारेमा जानकारी लिए।
मन्त्री भट्टराईले सबै विभागी प्रमुखहरुलाई प्रतिप्रश्न गर्दै अवस्था बारेमा सोधे।
विभागीय प्रमुखहरुको रिपोर्टिङ्ग सुनिसकेपछि निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउन र निगमभित्रको आर्थिक मितव्ययीतालाई चुस्त बनाउने योजनादेखि निगमको भविष्यको मार्गचित्रसहितको खाका प्रस्तुत गर्न पर्यटनमन्त्रीले निगमका विभागीय प्रमुखलाई कडा निर्देशन दिए।
‘सुधारका निम्ती प्रत्येक विभागले कार्ययोजना बनाउनुहोस्’
पर्यटनमन्त्री भट्टराईले इतिहासलाई मात्र गर्व गरेर बस्ने छुट नरहेको भन्दै राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले निगमलाई जसरी पनि माथि उठाउनै पर्ने बाध्यता बताए।
‘निगमको गौरवमय इतिहास छ, तर पूर्खाले घिउ खाएका थिए, हात चाटेर बसौं भनेर पनि अब हुन्न। गौरवमय इतिहास बोकेको निगम आजसम्म जे–जस्तो गरी आइपुग्यो यसको विद्यमान संरचनालाई अब नयाँ ढङले अघि बढाउनैपर्छ, त्यसका लागि कर्मचारी तयार हुनुहोस् निगम यतिखेर ऐतिहासिक र निर्णयक अवस्थामा आइपुगेको छ’, उनले भने।
मन्त्री भट्टराईले सुधारको निम्ति प्रत्येक विभागिय प्रमुखहरुलाई नयाँ योजना तयार पार्न निर्देशन दिए। कुनै पनि संस्थालाई माथि उकास्न केही न केही सम्झौता वा त्याग गर्ने पर्ने भन्दै मन्त्री भट्टराईले निगमका अहिलेका कर्मचारीहरुमा त्याग र इमान जरुरी रहेको बताए।
उनले भने, ‘यतिका युवा साथीहरु विभागीय प्रमुख हुनुहुन्छ, इमानका साथ काम गरेर नयाँ इतिहास निर्माणका लागि तयार हुनुहोस्।’
भारतको एयर इण्डियाको विघटनको उदाहरण दिँदै पर्यटनमन्त्रीले समस्या समाधान गर्न बेलैमा सुझबुझपूर्ण तयारीका साथ अघि बढ्नुमा नै निगमको भविष्य उज्वल हुने बताए।
मन्त्री भट्टराईले निगमका प्रत्येक विभागले हालको समस्या र आगामी कार्ययोजनाको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्न पनि निर्देशन दिए। निगमभित्रको अनावश्यक खर्च कटौती गर्दै विदेशस्थित निगमका कार्यालयमा बढ्दो खर्च घटाएर आर्थिक मितव्ययिता अपनाउन पनि मन्त्रीले निर्देशन दिए ।
‘हङकङमा के भएको हो ?’
मन्त्री भट्टराईले हङकङबाट आएका यात्रुहरुले लगेज नपाएको भिडियो भाइरल भएको भन्दै कसको कमजोरीबाट भएको हो? तत्काल छानविन गर्न निर्देशन दिए।
साताभन्दा बढी समय बिते पनि नेपाल एयरलाइन्सले ‘लगेज’ नदिँदा अत्यावश्यक सामग्री प्रयोग गर्न नपाएको भन्दै यात्रुहरुले निगमका कर्मचारीप्रति आक्रोश पोखेका थिए। उनले यदि कमजोरी निगमका कर्मचारीहरुबाट भएको भए तत्काल कारबाही गर्न पनि निर्देशन दिए।
मन्त्री भट्टराईले तत्काल छानबिन गरेर निगमका कर्मचारीबाट कमजोरी भएको देखिए तत्काल हङकङबाट फिर्ता गर्न निर्देशन दिए। कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही गरेको पाइएमा कडा कारवाही गर्ने बताउँदै मन्त्री भट्टराईले निगमको उडानसँग जोडिएका सबै विषयलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए।
‘व्यापारीको स्वार्थमा होइन निगमको पक्षमा काम गर्नुहोस्’
मन्त्री भट्टराईले निगमका उच्च अधिकारीहरुको काम आफूले नजिकबाट नियालिरहेको बताए।
उनले भने, ‘व्यापारीसँग समय बिताउने, लन्च गर्ने डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ। अब छोडिदिनुहोस्, व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ।’
उनले व्यापारीको स्वार्थमा होइन निगमको हितमा काम गर्न कडा निर्देशन समेत दिए।
मन्त्री भट्टराईले निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै र्याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गरे।
विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसङग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थितिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताए।
‘निगमको सम्पतिको सही सदुपयोग गरौं’
मन्त्री भट्टराईले निगमको स्वामित्वमा रहेका जग्गाहरुको सही सदुपयोग गर्नुपर्ने बताए। निगमका देशका बिभिन्न १६ स्थानमा रहेका जग्गाहरु उचित मुल्य सहित भाडामा अथवा व्यापारिक प्रयोजनमा ल्याउन पर्ने बताए।
पछिल्लो समयमा पोखरामा रहेको जग्गाको भाडा नउठिरहेको सन्दर्भमा तत्काल प्रशासन र प्रहरीको सहयोगमा भएपनि आबश्यक कदम चाल्न निर्देशन दिए।