जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।
उक्त गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्युत् आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनअन्तर्गत बुइपामा सञ्चालित सब–स्टेसनमा जोडिएको हो ।
रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए।
'जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारनलाइनमा जोडिएसँगै भदौ १६ गतेदेखि नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएर मिटर रिडिङको काम सुरू गरेको छ', उनले भने, 'जलविद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न भए पनि अहिले विश्वभर महामारीका रुपमा देखा परेको कोरोना भाइरसका कारण माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी गरेका छौँ।'
राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब ६० करोड रूपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ । विसं २०६८ देखि उत्पादनको पहल थालिए पनि २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाका लागि कन्सट्रक्सन निर्माणको काम शुरु गरिएको थियो।
केपिलासगढी गाउँपालिकाबाट उत्पादित माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना जिल्लामा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएकामध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो।