अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिने बताए।
उनले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे।
अर्थमन्त्री पौडेलले प्रतिकूलावस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
उनले बजेटमा उल्लेख गरिएका राहत र पुनरूत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताए।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरे।
चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा व्यापार र उद्योग क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे। चेम्बरले अर्थमन्त्रीलाई २२ बुँदे सुझावसमेत दिएको छ।