दाङको टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण गर्न सहमति भएको छ।
शुक्रबार पत्रकार सम्मलेन गरी नेपाल नागरिक उड्डयन दाङ विमानस्थलका प्रमुख कैलाश शर्मा र नेपाल आयल निगम डिपो कार्यालय राप्ती तुलसीपुरका प्रमुख सुदिप पोखरेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
इन्धनको डिपो निर्माण गर्न विमानस्थलको जग्गा आयल निगमलाई भाडामा दिन सम्झौता भएको हो।
सो डिपो बनाउन विमानस्थलले ५ कठ्ठा जग्गा निगमलाई भाडामा दिएको हो। जग्गा दिने सम्झौता भएसँगै इन्धन डिपो निर्माणको कार्यले तीव्रता पाउने आश गरिएको छ।
सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
‘ढिलोमा हप्ता दिन भित्रै हामी काम सुरू गर्छौं,’ उनले भने ‘ इन्धन डिपो निर्माणस्थलका रुख बिरूवा पनि काट्नु पर्नेछ।’
यसअघि डिपो निर्माण गर्ने कुरा भए पनि जग्गाको कारण टुंगो लागेको थिएन।
पोखरेलले भने, ‘जग्गा पनि उपलब्ध भयो। अब विज्ञ टोलीले तत्कालै काम सुरू गर्नेछ।’
त्यस्तै नेपाल वायुसेवा निगम दाङ स्टेसन प्रमुख नेमकान्त लम्सालले इन्धन डिपोको लागि हाल ३ वटा ट्याङ्की निर्माण गरिने बताए।
उनका अनुसार प्रति ट्याङ्कीको क्षमता ७० हजार लिटर हुनेछ।
‘दाङ एयरपोर्टमा महिनामा ३० हजार इन्धन खपत हुन्छ, तर बिहान र बेलुका फ्लाइट भयो र यहाँबाट हवाई मार्ग विस्तार गर्न सक्यौं भने क्रमश: बढ्दै जाने सम्भावना छ,’ एयरपोर्ट प्रमुख शर्माले भने,‘बजेट अभावका कारण विमानस्थलको पूर्वाधारहरू काम चलाउ मात्र छ,अब सबै मिलेर एयरपोर्टको विकासका लागि जुट्न जरूरी छ।’
टावरमा एयर कन्ट्रोलरका लागि आधुनिक र डिजिटल प्रविधि पनि जडान गर्न लागेको बताए।
यही फागुन अन्तिम सातादेखि हप्तामा दैनिक उडानहरू भइरहेका छन्।
दाङबाट काठमाडौं जाने हवाई भाडा दुई खालको छ। सुरूमा र पछि टिकट काट्ने व्यक्तिलाई फरक भाडादर राखिएको छ।
एउटै जहाजको एकै ठाउँ जाने भाडा ६ हजार २ सय ७० र ८ हजार ६ सय रुपैयाँ छ।
सानो जहाजबाट यात्रुलाई सेवा पुर्याउने मुख्य उद्देश्यका साथ भाडा दर फरक पर्ने गरेको लम्सालले बताए।
सिट संख्या थपेपछि भाडामा कमी आउने उनले बताए।
दाङ एयरपोर्टमा धेरै आन्तरिक उडान हुँदा तत्काल साँझ बिहान उडान भर्न जरूरी रहेको तर्क गरे।
यो पनि :
दाङमा एयरपोर्ट स्थापनाको ६६ वर्षपछि बन्न थाल्यो इन्धन डिपो