यो वर्ष एप्पलले आफ्ना नयाँ उपकरण अप्रिलमा सार्वजनिक गर्ने भएको छ।
एप्पल इन्साइडरका अनुसार केही समयअघि एप्पलका कयौँ विश्लेषकले सार्वजनिक कार्यक्रम मार्च २३ मा हुने अनुमान लगाएका थिए।
कार्यक्रममा एप्पलले नयाँ एयरपड–३ र एयरट्याग्स सार्वजनिक गर्न सक्ने भनिएको थियो। तर एप्पलका अर्का विश्लेषक जोन प्रोसेरले कार्यक्रम अप्रिलमा हुने दाबी गरेका हुन्।
बुधबार जोन प्रोसेरले आफ्नो ट्वीटरमार्फत् एप्पलको नयाँ सार्वजनिक मितीको खुलासा गरेका थिए। आफूले दाबी गरेको मिती गलत नहुनेमा उनी ढुक्क छन्।
सन् २०२० मा जोन प्रोसेरले आइफोन एसइबारे गरेका अनुमान मिलेको थियो। उनले ती अनुमानहरु आइफोन एसइ सार्वजनिक हुनुभन्दा एक हप्ताअघि नै गरेका थिए। यहीँ कारण उनका अनुमानमा विश्वास गर्नेका संख्या बढी छ।
अझैपनि एप्पलले कुनै कार्यक्रम नगरेर प्रेस विज्ञप्तिबाट नयाँ उत्पादन घोषणा पनि गर्न सक्ने एप्पल इन्साइडरका भनाइ छ। यसरी एप्पलले गत वर्ष जस्तै भर्चुअल कार्यक्रम गरेर भिडियो सिधैँ युट्युबमा पोस्ट गरी सार्वजनिक गर्न सक्छ।