उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन्।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उनले आवश्यकता भए थप इजाजत दिने बताएका हुन्।
आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उनले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरे।
उनले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताए।
‘निगमसम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न हामी लागिपरेका छौं, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउँछौं’, उनले भने।
पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ।
कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको संघको निर्वाचन एक वर्षपछि हुन लागेको हो। रासस