आजसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत भई कम्तीमा वैशाख महिनाको योगदान गरेकाले जेठ र असार महिनाको योगदान गर्नु नपर्ने भएको छ।
कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार वैशाखसम्म वा वैशाखदेखि योगदान थालेका सूचीकृत रोजगारदाता र कर्मचारीको दुई महिनाको योगदान सरकारले नै बेहोर्नेछ।
सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेका रोजगारदाता र कर्मचारीको जेठ र असार महिनाको योगदान बेहोर्नेगरी आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा गरेको थियो।
हालसम्म १४ हजार ४३५ रोजगारदाता कम्पनी र तिनमा आवद्ध २ लाख ४३ हजार ३२७ जना योगदानकर्ता सूचीकृत छन्। तीमध्ये जेठ महिनामा मात्रै ५ सय ८१ कम्पनी र ४२ हजार १४४ योगदानकर्ता थपिएका छन्। ‘बजेटले दिएको सुविधाका कारण जेठमा थपिएको संख्या धेरै हो’ रेग्मीले भने।
हालसम्म सूचीकृत ८ वाणिज्य बैंकहरुमध्ये लक्ष्मी र स्टान्डर्ड चार्टरले योगदान थालेका छन्। स्टान्डर्डले हालै योगदान थालेको हो।
सूचीकृत ३ विकास बैंक रहे पनि कसैले योगदान थालेका छैनन्। १० वटा फाइनान्स कम्पनी सूचीकृत हुँदा ४ वटाले योगदान थालेका छन्। योगदान गर्ने फाइनान्सहरुमा गुडविल, नेपाल, आइसिएफसी र पोखरा फाइनान्स छन्।
माइक्रोफानान्स ३९ कम्पनी सूचीकृत हुँदा ११ वटाले योगदान थालेका छन्। जनउत्थान सामुदायिक, लक्ष्मी, राष्ट्रउत्थान, सपोर्ट, सबैको, स्वाभिमान, समता, ओमी, महिला, स्वस्तिक र जल्पा सामुदायिक लघुवित्तले योगदान थालेका हुन्।
त्यस्तै ३४ बीमा कम्पनी सूचीकृत हुँदा ८ वटाले योगदान थालेका छन्। प्राइम लाइफ, सिटिजन, रिलायन्स, सूर्या, सन नेपाल लाइफ इन्स्योरेन्स, शिखर, सगरमाथा र प्रिमियर इन्स्योरेन्सले योगदान थालेका छन्।
कोषमा आधारभूत पारिश्रमिमको रोजगारदाता कम्पनीले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्नुपर्छ। सो योगदानबाट २० प्रतिशत निवृत्तिभरण, ८.३३ प्रतिशत अवकाश योजनामा छुट्याइन्छ।
बाँकीबाट १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र १. ४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा छुट्याइन्छ।
यी पनि हेर्नुस्
सामाजिक सुरक्षा कोषमा जाँदा के-के छन् फाइदा?
सामाजिक सुरक्षा कोषमा जान किन तर्सिए बैंक तथा वित्तीय संस्था?