सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट आज ल्याउँदैछन्।
प्रत्येक असार १ गते आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश सरकारहरुले आज बजेट प्रस्तुत गर्ने छन्।
कोरोना महामारीकाबीचमा आउन लागेको बजेट स्वास्थ्यक क्षेत्र केन्द्रित भएर आउने सबै प्रदेशले बताएका छन्। सिमित स्रोतसाधन तथा संरचनागत विकास नभएकाले बजेट कार्यान्वयन गर्न नसकिएको बताउँदै आएका सरकारहरुले आज बजेट ल्याउन लागेका हुन्।
प्रदेश सरकारहरुले संघीय सरकारबाट जाने अनुदान तथा राजस्व बाँडफाँडबाट जाने रकमलाई मुख्य स्रोत मानेर बजेट बनाउछन्।आफ्नै आयको बलियो स्रोत नबनेका प्रदेश सरकारहरुले अपुग रकम ऋणबाट पनि जोहो गर्न सक्छन्।
चालु वर्षको बजेट कार्यान्वयको अवस्था कुनै पनि प्रदेशको सन्तोषजनक छैन।