ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ।
यो खाताले निवृित्तभरण पाइरहेका व्यक्तिलाई आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने बैंकले विश्वास लिएको छ।
यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखि आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन्।
ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ।
यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने बैंकले बताएको छ।
ग्राहकहरुलाई कुनै पनि कारण पैसा आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने व्यवस्था गरिएको छ।
सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिनेछ ।
साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिम खाता सञ्चालन गर्न सकिनेछ।
निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र ब्याज दिइनेछ ।
यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधाहरु उपलब्ध गराउने छ।