नेपाल विद्यु्त प्राधिकरणले चिनियाँ कम्पनीसँगको साझेदारीमा देशका विभिन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ।
स्टेसन निमार्णका लागि चिनियाँ कम्पनी वानबाङ डिजिटल एनर्जीसँग सम्झौता समेत गरिसकेको छ।
सम्झौतापछि चिनियाँ कम्पनीले आवश्यक सामग्रीको डिजाइन सुरु गरेको प्राधिरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।
‘सामग्री डिजाइन भएर आइसकेपछि निमार्णको काम सुरु हुन्छ। एक वर्ष भित्रमा हामीले स्टेसन निमार्णको काम गरिसक्ने योजना तयार गरेका छौँ,’ तिम्सिनाले सेतोपाटीसँग भने।
एक वर्ष भित्रमा काम सक्ने गरी प्राधिकरणले गत चैतमा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो।
देशका मुख्य सहर र धेरै सवारी गुड्ने सडकमार्ग प्राथमिकतामा राखेर स्टेसन निमार्णका लागि छनोट गरिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार प्रदेश १ मा पाँच, प्रदेश २ मा सात, बाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा छ, प्रदेश ५ मा आठ, कर्णाली प्रदेशमा एक र प्रदेश ७ मा तीन वटा चार्जिङ स्टेसन रहने छन्।
प्रदेश–१ अन्तर्गत दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरीमा एक/एक वटा स्टेसन रहने छन्।
प्रदेश–२ अन्तर्गत विरगञ्ज, सिमरामा एक, चन्द्रानिहापुर, ढल्केबर, जनकपुर, बर्दिवास र राजविराजमा एक/एक स्टेसन रहने प्राधिकरणले बताएको छ।
बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा सात र कुरिन्टारमा चार वटा वटा चार्जिङ स्टेसन बन्नेछ।
त्यस्तै, मलेखुमा, विपी राजमार्ग, हेटौडा र भरतपुरमा दुई/दुई वटा र बनेपामा एउटा चार्जिङ बनाइने छ।
गण्डकी प्रदेश अन्तर्गत पूर्वी नवलपरासी, दमौली र स्याङ्जामा एक/एक र पोखरामा तीन वटा चार्जिङ स्टेसन रहने छन्।
प्रदेश–५ अन्तर्गत नेपालगन्जमा एक, दाङमा दुई, वुटवलमा तीन र पश्चिम नवलपरासिमा एउटा स्टेसन बन्नेछ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा एउटा स्टेसन बनाउने प्राधिकरणको योजना छ।
प्रदेश–७ अन्तर्गत महेन्द्रनगर, धनगढी र डडेल्धुरामा एक/एक वटा स्टेसन रहने छन्।