यातायात मजदुर संगठनले यातायात श्रमिकहरूलाई कोरोनाको खोप लगाउनुपर्ने माग राखेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटी मजदुर संगठनले कोरोनाबाट श्रमिकहरू सुरक्षित भएमात्रै सर्वसाधारण सुरक्षित हुने भएकाले निषेधाज्ञाकै अविधमा खोप लगाउन माग गरेका छन्।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन,नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका पदाधिकारीहरूले संविधानको व्यवस्था अनुसार श्रमिकहरूको निःशुल्क र भेदभावरहित उपचार व्यवस्थापन गर्न समेत मन्त्री नेम्वाङसँग अनुरोध गरेका छन्।
रोजगारी गुमाएका श्रमिकहरूको लागि राहत प्याकेज र ऋण सहुलियत व्यवस्था मिलाउन समेत उनीहरूले जोड दिएका छन्।
उनीहरूले इन्धन ढुवान,खाद्यान्न ढुवानी,एम्बुलेन्स तथा अत्यावश्यक सामान ढुवानी गर्ने श्रमिकहरूलाई जोखिम भत्ताको व्यवस्था गर्न समेत माग गरेका छन्।