सामाजिक सुरक्षा कोषले अन्य अवकाश कोषमा रहेको रकम सारिने हल्ला निराधार रहेको स्पष्ट पारेको छ।
कर्मचारी सञ्चय कोषमा रहेको २० प्रतिशत रकम सामाजिक सुरक्षामा सर्ने डरले कतिपय कर्मचारीले जागिर समेत छाडेका बेला कोषले एक विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट्याएको हो।
सामाजिक सुरक्षा कोषले सबै योगदानकर्ताका लागि निवृत्तिभरण अनिवार्य भन्ने हल्ला पनि गलत रहेको जनाएको छ।
त्यस्तै ६० वर्ष पहिले नै जागिर छोडेमा निवृत्तिभरण योजनाको रकम पाउन ६० वर्षसम्म पर्खनुपर्ने भन्ने हल्ला पनि निराधार रहेको जनाएको छ।
कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निवृत्तिभरण योजनामा रहेको रकमको साँवा समेत गुम्ने भन्ने विषय आएको भन्दै कोषले त्यसको प्रतिरक्षा गरेको छ।
२०७८ साउनपछि योगदान गर्ने योगदानकर्ताको लागि समेत अवकाश हुँदाका वखत नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम समेत ब्याजसहित फिर्ता पाउने व्यवस्था रहेको कोषको दावी छ।
यो असार मसान्तसम्म योगदान गर्नेहरुको जागिर छाड्दा वा अवकाश हुँदा जुनसुकै समयमा वृद्धवस्था सुरक्षा योजनाको रकम एकमुष्ट लैजान पाउने व्यवस्था रहेको जनाउँदै कोषले यसै अवधिभित्र सूचीकृत भई योगदान थाल्न पनि आग्रह गरेको छ।
यो पनि हेर्नुस्
सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी