लामो समयपछि शनिबार टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की आइपुगेको छ। भारतहुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की शनिबार बिहान तुलसीपुर बजारमा आइपुगेको हो।
टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की र त्यससँग सम्बन्धित अन्य उपकरणहरू आइपुगेको सेतोपाटीलाई जानकारी दिए।
शर्माका अनुसार मुम्बईबाट ल्याइएको यो ट्याङ्की करीब एक डेढ महिना नेपालगञ्ज भन्सार नाकामै रोकिएको थियो।
इन्धन डिपोका लागि तेल भण्डारण गर्न ठूलो ट्याङ्की र सम्बन्धित उपकरण आएकोले अब प्लेनमा इन्धन भर्न बाउजर लगायतका उपकरण आउन आवश्यक रहेको उनले बताए।
असार १७ गतेदेखि नेपाल सरकारले आन्तरिक उडान खुला गर्ने घोषणा गरिसकेको छ। टरिगाउँ एयरपोर्टमा हाल नेपाल एरलान्सले दैनिक दुई उडान भर्दै आएको छ।
हालसम्म दाङ एयरपोर्टमा प्लेनका लागि इन्धन रिफिलिङको सुबिधा थिएन। यसले निजी विमान सञ्चालक कम्पनीहरु थप आकर्षित हुने अपेक्षा गरिएको छ। टरिगाउँ एयरपोर्टको धावनमार्ग बिस्तार हुन सकेमा ठूला बिमानहरू आउन सक्ने र त्यसले भाडा सस्तो हुने देखिएको छ ।