आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई शनिबार अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हस्तान्तरण गरेका हुन्।
यसअघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो।
सोहीअनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो।
फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड २८ लाख बराबरको सहयोग उपलब्ध गराएको थियो।
कोभिड–१९ रोकथाम तथा उपचारका लागि फाउन्डेसनले करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरिसकेको जनाएको छ।