सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०७६/७७ भित्र सूचीकृत भई योगदान गरेका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिइने भएको छ।
योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा संकलित रकमको लगानीबाट एक वर्षमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य प्रतिफल आर्जन भएको कोषले जनाएको छ।
दाखिला भएको रकमको आधारमा योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्न मिल्ने र साे वितरणको निर्णय भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए।
सो रकम कोषले सम्वन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाँडै जम्मा गरिदिने उनले बताए।वृद्धवस्था सुरक्षा योजनामा योगदानकर्ताको जति रकम संकलन भएको छ, सो रकममा अब ८ प्रतिशत थप प्रतिफल जोडिनेछ।
सोमबार पत्रकार सम्मेलन गर्दै कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएको जनाएको छ।
कोषमा १४ हजार ५८० रोजगारदाता सुचिकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ।
प्रवक्ता पन्थीले कोषले सञ्चालन गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताए।
त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उनले बताए।
कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको हो। सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सबैलाई आव्हान पनि गरेको छ।