स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आगामी सोमबार विद्युत उत्पादन हुने भएको छ।
७६/७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको कुल जडित क्षमता ४५६ मेगावाट छ। २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको आयोजनाले जनाएको छ।
पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसीका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरेको थियो।
टोलीले विद्युतगृहमा भइरहेको उपकरणको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो।
‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएका छौं, सम्पूर्ण परीक्षणहरु अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएमा सोमबार बिहान स्वीच अन गरी पहिलो युनिबाट विद्युत उत्पादन सुरु गर्छौं’,शाक्यले भने।
उनका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्था थियो।
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरिएको बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणसहित सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ। हाल प्रसारण लाइनको परीक्षण भइरहेको छ। आयोजनाको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्म ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ।
‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकोले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेशनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ’, शाक्यले भने। यसका लागि आवश्यक प्रवन्ध भइसकेको उनले बताए।
सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ। सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउने छ।
आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुल लगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३ मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।
लट २ को ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरु, स्थानीय बासिन्दाहरुलगायत सबैको अथक प्रयास र सहयोगमा आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेको छ।
आयोजनाले चरिकोट (दोलखा) –सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो। आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ।
लागत ८५ अर्ब!
व्यवसायिक उत्पादन सुरु भइनसकेकाले आयोजनको लागत भने बढेको बढ्यै छ। कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो।
तर कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण मात्रै ४० अर्ब ५८ करोड पुगेको छ। त्यसमा लागेको ब्याज २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, बीमा संस्थान लगायतबाट आयोजनाले यस्तो ऋण लिएको छ।
विभिन्न बैंकबाट लिएको अल्पकालीन र अन्य ऋणसहित करिब ५ अर्ब दायित्व थपिएको छ। त्यस्तै आयोजनाले सेयर जारी गरेर १० अर्ब ५९ करोड रुपैयाँ जुटाएको थियो।
यसरी सर्सती हेर्दा ८५ अर्ब बढी लागत लागिसकेको छ। कम्पनीको लागत प्रतिमेगावाट १८ करोड ६४ लाख लागिसकेको छ।
पछिल्लो समय बन्ने गरेका आयोजनाकै हाराहारीमा माथिल्लो तामाकोसीको लागत पुगेको छ। भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता असहजता झेल्नुपर्दा आयोजनाको लागत बढ्न गएको आयोजनाका प्रवक्ता गणेश न्यौपाने बताउँछन्।
‘यस्ता संकटका बेला आयोजनालाई आवश्यक पर्ने उपकरण, जनशक्ति तथा निर्माण सामाग्री उपलब्ध हुन सकेन, यसले गर्दा अवधि लम्बिएर ब्याज बढ्न गयो’ न्यौपानेले भने ‘अर्कोतर्फ डलरको मूल्यले पनि ठूलो असर पार्यो।’