नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सहभागीलाई थप प्रतिफल दिने भएको छ। सोही कार्यक्रमबाट संचित रकमको नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने भएको हो।
अवकाश कोष संचालन कार्यविधि २०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने छ।
यस अन्तर्गत करिव १ अर्ब ३ करोड रुपैयाँ बराबरको रकम सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।
यसबाट सहभागीहरुलाई कोभिड–१९ को असरबाट पर्न गएको आर्थिक प्रभावलाई केही मात्रामा सहयोग पुर्याउने विश्वास कोषको छ।
उक्त रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको कोषले जनाएको छ।
कार्यक्रमअन्तर्गत ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने कोषले जनाएको छ। अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल समेत कोषले प्रदान गर्नेछ।