टरिगाउँ एयरपोर्टमा असार २० गतेदेखि विमान सेवा सुरू हुने भएको छ।
हालका लागि हप्तामा ५ वटा मात्रै उडान हुने भएको छ ।
टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले हालका लागि सोमबार र बुधबारका उडान कटौती गरिएको बताए।
कोभिड-१९ को दोस्रो लहरको महामारीपछि दाङमा वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी भएसँगै हवाई सेवा बन्द भएको थियो।त्यतिखेर दैनिक दुइटा उडान हुँदै आएका थिए।
नेपाल एयरलाइन्सको सानो १८/१९ सिटे विमानले टरिगाउँ एयरपोर्टमा उडान भर्दै आएको छ।
टरिगाउँ एयरपोर्टको धावनमार्ग कालोपत्रे भए पनि यहाँ ठूला विमान अवतरण गर्न सक्दैनन्। कारण धावनमार्गको लम्बाइ ७५० मिटर र चौडाइ ३० मिटरको मात्रै कालोपत्रे गरिएको छ।
केही दिन पहिले मात्रै एयरपोर्टमा रिफिलिङ सेन्टरका लागि ट्यांकीलगायत आवश्यक उपकरण एयरपोर्टमा ल्याइएको छ।
हालसम्म दाङमा इन्धन रिफिलिङको सुविधा थिएन।